• २ असार २०८१, आइतबार

सकियो प्रदेश स्तरीय सुरक्षा गोष्ठी

blog

सुरक्षा गोष्ठीमा भएका छलफलका विषयमा जानकारी दिँदै गृह मन्त्रालयका सह-सचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई। तस्बिर: अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ ९ गते। बागमती प्रदेशको राजधानी हेटौँडामा भएको दुईदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सकिएको छ। नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा हेटौँडामा सुरक्षा गोष्ठी भएको हो। 

सुरक्षा गोष्ठीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश भित्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई मजबुत बनाउन र सरकारका प्रयासलाई नागरिक सरोकारका विषयमा केन्द्रित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

उहाँले दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रवाहलाई थप सहज बनाउन गोष्ठी महत्त्वपूर्ण कोशेढुङ्गा हुने बताउनुभयो। स्थानीय प्रशासनको उपस्थितिले पीडितका लागि भर र पीडकका लागि डर सिर्जना हुनुपर्ने धारणा राख्दै सबैलाई त्यस विषयमा खरो उत्रन उहाँले निर्देशन गर्नुभयो। 

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नागरिकको हित अभिवृद्धि र सहज सेवा प्रवाहका लागि सबै तहका सरकारले समन्वय तथा सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी लगायत सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो। 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले शान्ति सुरक्षा र सेवा प्रवाहलाई बढी भन्दा बढी नागरिकमैत्री र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक बजेट तथा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले सुरक्षा निकायहरूलाई व्यावसायिक र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने धारणा राख्नुभयो।

सुरक्षा गोष्ठीको अध्यक्षता गर्दै गृह सचिव एकनारायण अर्यालले जिल्लागत रूपमा भएका असल अभ्यासहरूलाई अन्य जिल्लाहरूले अवलम्बन गर्न निर्देशन दिनुभयो। 

प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्था, देखा परेका समस्या र सुरक्षा समितिको तर्फबाट भए गरेका कार्यहरू प्रस्तुत गर्नुभएको थियो। जिल्लाबाट उठेका विषयमा मन्त्रालयको धारणा राख्दै गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखा, नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, विपद् व्यवस्थापन महाशाखा प्रमुखले प्रस्तुतीकरण गर्नुभएको थियो। बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले समेत विश्लेषणात्मक प्रस्तुतीकरण गर्नुभएको थियो। दुई दिनसम्म हेटौँडामा चलेको सुरक्षा गोष्ठीमा १३ जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी रहनुभएको थियो।