• १६ भदौ २०८१, आइतबार

युगकविको प्रतिमामा माल्यार्पण

blog

काठमाडौँ, जेठ ९ गते । युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीका सन्दर्भमा मङ्गलबार ओमबहालस्थित कविको प्रतिमामा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, कवि, साहित्यकार तथा परिवारका सदस्यले शालिकमा माल्यार्पण गर्नुभएको थियो । 

युगकवि सिद्धिचरण प्रतिष्ठान र युगकवि सिद्धिचरण गुठीद्वारा संयुक्त रूपमा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री तामाङले युगलाई आँखा देखाउने युगकवि शान्तिप्रेमी कवि भएको तर त्यो प्राप्तिका लागि क्रान्ति आवश्यक छ भन्ने परिवर्तनको सन्देश दिनुभएको बताउनुभयो । उहाँले आजको परिवर्तनमा युगकविको चेतना, विचार र लेखनले विशेष भूमिका खेलेको हुनाले उहाँका सिर्जना युगौँयुग अमर रहने बताउनुभयो । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले हरेक वर्ष युगकविको जन्मजयन्तीको अघिल्लो दिन युगकवि सिद्धिचरण गुठीले विशेष श्रद्धाञ्जली सभा र प्रतिमामा माल्यार्पणको आयोजना गर्ने गरेको बताउनुभयो ।

प्रतिष्ठानका सहसचिव प्राडा देवी नेपालले युगकविको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै युगकविको ‘चम्क युवक’ कविताले गङ्गालाललाई सहिद बन्न उत्प्रेरित गरेको बताउनुभयो । कार्यक्रममा प्राडा देवी नेपालले युगकविकै ‘शान्तिदूत’, डा. फणीन्द्रराज निरौलाले ‘चम्क युवक अब चम्क न चम्क’, लोककवि राजभाइ जकःमीले सिद्धिचरणको जीवनी, व्यक्तित्व र कृतित्व समेटिएको नेपाल भाषाको कविता प्रस्तुत गर्नुभएको थियो । 

ओखलढुङ्गा समाज काठमाडौँको तर्फबाट रञ्जना श्रेष्ठले ‘मेरो प्यारो ओखलढुङ्गा’ गीत प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका संरक्षक युगकविपुत्र रविचरण श्रेष्ठका अनुसार युगकवि सिद्धिचरण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख राशिको ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष वरिष्ठ समालोचक एवं अन्वेषक प्राडा उषा ठाकुरलाई र चालिस हजार राशिको ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ ओखलढुङ्गाका पत्रकार नवराज कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ ।