कन्हैयालाल केसरी
पर्सा, जेठ ८ गते । जिल्ला प्रशासन कार्यालयमा कार्यरत तत्कालीन प्रशासकीय अधिकृत मोहनप्रसाद मैनालीलाई गोली हानी हत्या गर्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-५ बलुवा निवासी प्रेम गिरी १५ वर्षपछि पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कुमार विक्रम थापाका अनुसार पक्राउ परेका गिरीले २०६२ असोज २२ गते जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत मैनाली अफिसको काम सकेर सरकारी निवास तर्फ जाँदै गर्दा निवास अगाडी गोली हानी हत्या गरेका थिए ।
यस्तै, गिरीले २०५७ भदौ १२ गते पर्सा विन्दवासिनी गाउँपालिका ४ का ३० वर्षीय देवेन्द्र यादवको घरमा डकैती गर्ने क्रममा गिरी नेतृत्व टोलीले यादवको हत्या गरेको तथा मैनाली र यादवको हत्यामा संलग्न रहेका तथा हातहतियार खरखजाना मुद्दाका फरार अपराधी गिरी दुई व्यक्तिको हत्या र हातहतियार तथा खरखजाना मुद्दामा अदालतबाट दोष ठहर भई सजाय समेत ताकिएको सूचना अधिकृत थापाले जानकारी गराउनुभयो । उहाँले गिरी नेपालमा मात्रै नभई सीमावर्ती क्षेत्र भारतका विभिन्न ठाउँमा आपराधिक गतिविधिका संलग्न रहेको प्रहरी तथ्याङ्कबाट देखिएको बताउनुभयो ।
सूचना अधिकृत थापाले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार आफ्नै गाउँ घर बालुवामा लुकेको अवस्थामा पक्राउ गरी उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको बताउनुभयो ।