• १२ साउन २०८१, शनिबार

शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी : देवप्रसाद गुरुङ

blog

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ । फाइल तस्बिर

काठमाडौँ, जेठ ७ गते । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । 

विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरूबिच कम्तीमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उहाँको निष्कर्ष थियो । सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरूले नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको दाबी समेत गर्नुभयो । मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरूले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गर्नुभयो । उहाँले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताउनुभयो ।

महासचिव गुरुङले भन्नुभयो, ‘‘मुलुकको परिस्थितिको सन्दर्भमा सबै दलहरूबिच सहमति हुन जरुरी छ । सहमति हुन सकिराखेको छैन । कतिपय मुद्दाहरूमा सहमति हुन सकिराखेको छैन । राष्ट्रिय सहमतिको जरुरी छ । तर सहमति हुन सकिराखेको छैन । एउटा या दुइटा दलले चाहँदैमा मात्रै सहमति भइहाल्दैन । यो शान्ति प्रक्रियासँग जोडिएको हुनाले राष्ट्रिय सहमतिको जरुरी छ । कम्तीमा पनि शान्ति प्रक्रियामा सहभागी भएका दलहरूको सहमतिको जरुरी छ । ती दलहरूको सहमति विना यो टुङ्गिन कठिन छ ।’’

उहाँले भन्नुभयो, ‘‘ यो कामलाई टुङ्गोमा पुर्‍याउन रूपमा मानव अधिकार सङ्घ, सङ्गठनको कुरा, पीडित परिवारको कुरा आदिआदि रूपमा देखिएका छन् । तर सारत कहाँनिर देख्छु त भन्दाखेरी राष्ट्रियता, स्वाधीनता सम्बन्धी मुद्दामा समान बुझाई हुन सकेन । यो आन्तरिक मामिला हो । दलहरूको बिचमा आपसी सहमति गरेर शान्ति प्रक्रियालाई हल गर्नुपर्छ भन्नुपर्छ भन्ने मान्यता, स्थिरता र स्थायित्व कायम गर्दै जानुपर्छ भन्ने मान्यतामा एकरूपता हुन सकेन । त्यसले गर्दा निश्चित रूपमा अहिलेको विश्व परिस्थितिमा कतिपय शक्ति केन्द्रहरू शान्ति चाहँदैन । र भइराखेको शान्तिलाई पनि भङ्ग गरेर अशान्तिको दिशातर्फ जान खोजिराखेको छ । युद्धको दिशातर्फ जान खोजिराखेको छ । सैन्य अस्त्रको होडबाजी, द्वन्द्वको स्थिति, शीतयुद्धको परिस्थितितिर गइरहेको छ । यो स्थितिले गर्दाखेरी विगतमा कालमा शान्ति प्रक्रियालाई हल गर्ने कुरा पनि भइराखेको शान्तिलाई कसरी भड्काएर द्वन्द्वको परिस्थितिमा लैजाने अहिलेका कतिपय शक्ति केन्द्रहरू त्यो दिशातर्फ केन्द्रित छ ।’’

महासचिव गुरुङले दलहरूबिच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औँल्याउनुभयो ।