• १२ मंसिर २०८१, बुधबार

सुनकोशी–मरिण डाइभर्सन

मधेशलाई माथि उठाउने आयोजना

blog

राष्ट्रिय गौरवका रूपमा मानिएको सुनकोशी–मरिण डाइभर्सन आयोजना अन्तर्गत सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । मधेश प्रदेशका लागि यो आयोजना अपरिहार्य थियो, हुने भयो । यसबाट लाभ लिन पाउने सम्पूर्ण वर्गलाई यो आयोजनाले सुखद सन्देश दिएको छ । सरकारको यस कदमप्रति देशले नै गौरव हासिल प्राप्त गरेको छ । यसमा कुनै सन्देह छैन ।

सरकारको यति राम्रो कदमको पक्षसँगै जोडिएको मधेश क्षेत्रकै चुरे दक्षिण एवं बागमती नहर उत्तरी बेल्टको भूभाग आयोजनाको कार्यक्षेत्र बाहिर परेको छ । यो खबरले उक्त क्षेत्रका बासिन्दामा ठुलो चोट परेको आभास हुन्छ । यसै आयोजना अन्तर्गत सिँचाइ एवं खानेपानी पनि पुर्‍याउन सम्भव भएको कार्य योजना सरकारसमक्ष पेस गर्दा सरकारबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । 

सुनकोशीको पानीलाई मरिण खोलैखोला बगाएर बागमती ब्यारेजमा पुर्‍याएर मात्र पूर्व पश्चिम नहरमार्फत वितरित गराउनु आयोजनाको मुख्य लक्ष्य हो । आवश्यक मात्राको पानी मरिण व्यासिनबाटै लखन्देही व्यासिनमा पनि पथान्तरण गरी वर्षौंदेखि स्रोतको कमीले सुक्खाग्रस्त नहर उत्तरी भागलाई समेत सम्बोधन गर्ने गरी कार्यक्रममा समावेश गरिनु नै पूरक योजनामा पर्नु पर्ने कार्यक्रम हो । यो पूरक कार्यक्रमबाट सरकारलाई केही आर्थिक व्ययभार थपिन्छ । यसबाट प्राप्त हुने लाभ मूल्याङ्कन गर्ने हो भने अप्ठेरो परिस्थितिबाट सम्पन्न भएको काम र दाम दुवैलाई पछाडि पारि राष्ट्रले गौरव प्राप्त गर्ने अर्को एक महत्वपूर्ण अध्याय थपिने निश्चित छ । सम्पूर्ण मधेश प्रदेशले यसबाट पूर्ण लाभ लिन सक्ने वातावरण पनि सिर्जना हुने छ ।

ज्ञापनपत्रमा प्रस्तुत गरिएका दुई मुख्य विकल्पमध्ये कार्यदलले पनि मरिण–खयरसाल–डाइनी ड्रप नै उत्तम विकल्पको रूपमा लिएको छ । जसका लागि सुनकोशी–मरिण डाइभर्सन आयोजनाले कुसुमटार हाराहारी वा मरिण खोलाकै अन्य उपयुक्त स्थानबाट सुनकोशीबाट प्राप्त सम्पूर्ण वा आंशिक पानी प्रयोग गरी बेतिनी–पोखरी–खयरसाल बिचको भू–भागमा जलविद्युत् उत्पादनको सम्भावना हेरेमा उक्त विद्युत् गृहबाटै खयरसालसम्म पाइप लाइनमार्फत पानी पु¥याउनु पर्छ । तत्पश्चात् करिब ७.२५ किमी चुरे भूभागमा सुरुङ वा बक्स कट माध्यम अपनाइ डाइनी खोलामा पानी पु¥याउन सक्ने सम्भावनालाई वास्तविकतामा परिणत गर्न सकिने छ । यसो भएमा मरिण खोलामा पानी फर्काउन बाँध बनाइरहनुपर्ने आवश्यकता पर्ने छैन ।

नेपाल सरकारबाट प्रस्ताव गरी कार्यान्वयनमा लैजान लागिएको बागमती ब्यारेज समुद्री सतहको लेभलबाट मात्र १२६ मिटरको उचाइमा अवस्थित छ । जसको कारण पानी सो लेभलभन्दा माथि जान सक्दैन । प्रस्तावित पूरक योजना अन्तर्गत विकल्प–१, उपयुक्त ठानिएमा सुनकोशीको पानी लखन्देही बेसिनको शिर चुरे डाँडामै समुद्री सतहको लेभलबाट चार सय मिटर हाराहारीमै पुर्‍याउन सकिने छ । विकल्प–२, खयरसाल–डायनीमार्फत समुद्री सतहको लेबलबाट तीन सय मिटर हाराहारीमै पानी लखन्देही बेसिनमा पथान्तरण गर्न सकिने छ ।

मरिण–लखन्देही डाइभर्सन योजनाका विशेषता 

पानी लखन्देही बेसिनमा प्रवेश हुने भएपछि मधेशको समथर भूभाग समुद्री सतहबाट हाराहारी दुई सय मिटर आसपासबाट सुरु हुने हुँदा दोस्रो विकल्पबाट पनि करिब एक सय मिटर उचाइ बचत हुने छ । प्राप्त पानीको स्रोतलाई विद्युत् उत्पादनमा प्रयोग गरी राष्ट्रिय आम्दानी बढाउने अति उत्तम विकल्प हुने छ । विद्युत् उत्पादन गरिने पानीको स्रोत घटबढ नभई सदाबहार एकनाश हुने हुनाले नेपालमा उत्पादित अन्य जलविद्युत् आयोजनाबाट प्राप्त हुने आय आम्दानीको अनुपातमा यस अन्र्तगत प्राप्त हुने आय आम्दानी लगभग दोब्बर हुने छ ।

लखन्देहीको पथ्थरकोट छेडाबाट उत्पादिन बिजुली भार बोक्ने प्रसारण लाइनको लम्बाइ छोटो पर्न जानाले मरिण बेसिनमा उत्पादिन बिजुलीभन्दा धेरै कम खर्चमा नवलपुर सब–स्टेसनमा प्रसारण लाइन जोडन सकिने छ । खयरसाल–डायनी डाइभर्सनमार्फत बागमती पूर्वी नहरलाई समेत पुग्ने गरी पानी पठाउन सक्ने हो भने बागमती ब्यारेजदेखि लालबन्दी–लखन्देहीसम्मको दुरी करिब १५/१६ किमी लामो नहरको साइज बढाउन लाग्ने सम्पूर्ण खर्च करोडौँ रुपियाँ बचत भई पानीलाई लालबन्दी–जग्दीबाटै पूर्वी नहरमा पठाइ महोत्तरी धनुषा क्षेत्रको दक्षिणी भूभागमा सिँचाइ सुविधा पु¥याउन 

सहज हुने छ । खयरसाल–डायनी डाइभर्सनमार्फत चुरे क्षेत्रसमेत समेटिने गरी बागमती पूर्वी नहरलाई समेत पुग्ने पानी पठाउने हो भने मरिण खोलामा जल सतह घटन जाँदा खोला नदी नियन्त्रण गर्न तटबन्ध गरिँदा लाग्ने प्रस्तावित खर्च चार अर्ब तीन करोडमा निकै कमी आउन सक्ने छ ।

यस अन्तर्गत मानिएको सबभन्दा ठुलो उपलब्धि प्रस्ताव गरिएको बागमती नहरको लेभलले नभेटी छाडेको उत्तरी बेल्टको सम्पूर्ण समथर भूभाग जो समुद्री सतहको लेभलभन्दा १२६ मिटर माथि पर्छन्, जुन क्षेत्रमा सिँचाइका लागि सधैँ आकाशको भर छ त्यहाँ सम्पूर्ण क्षेत्र सिञ्चित हुने छन् । यस अन्र्तगत अझ अर्को ठुलो उपलब्धि मधेश क्षेत्रमा शुद्ध प्रशोधित खानेपानी घरघरमा पुर्‍याउन सकिने छ । यस प्रयोजनार्थ नेपाल सरकारले धनुषाको लालगढमा २०८० चैत २६ गते खानेपानी तथा ढल निकास विभाग अन्तर्गत आयोजना गरिएको कार्यशाला गोष्ठीमा जनसमक्ष ल्याइएको कार्यक्रम अनुसार सुनकोशीकै पानी प्रयोगमा ल्याउने जनाएको छ । जस अनुसार मरिणको कुसुमटारबाट करिब चार हजार  लिटर पानी पाइपको माध्यमबाट मरिण–मरिण भई बागमती पु¥याइ पूर्व–पश्चिम लोकमार्ग समान्तर पाइप बिच्छयाइ पूर्वमा धनुषा र पश्चिममा पर्सासम्म खानेपानी वितरण गरिने कार्यक्रम यस अन्तर्गत रहेको छ । जसको लागि करिब ४६ अर्ब २० करोड रुपियाँ अनुमानित बजेट खर्च हुने कार्यक्रममार्फत सार्वजनिक भएको छ । 

पाइप फिटिङ कार्यका लागि मात्रै भ्याटलगायत जोड्दा ३० अर्ब खर्च हुने प्रक्षेपण छ । जसमा ५२ किमी लम्बाइ रहने मुख्य पाइप लाइनको अवधारणामा रहेको छ । खर्चको विश्लेषण केलाउने हो भने मेन पाइप फिटिङ गर्न, पाइप अड्याउन ढुङ्गा मेसिनरीको आइटमबाहेक करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान छ । मधेश प्रदेशका लागि शुद्ध खानेपानी आपूर्तिको अवधारणा मरिण–लखन्देही ड्रपमार्फत समावेश गर्ने हो भने नेपाल सरकारबाट प्रस्ताव गरिएको बजेटमा करिब सात अर्ब रुपियाँ नै बचत गर्न सकिने छ । मरिण–लखन्देही अन्तर्गत बिजुली उत्पादनपश्चात् निक्लेको पानी पथ्थरकोट छेउछाउ समुद्री सतहबाट करिब दुई सय ४० मिटरको उचाइ आसपास पानी प्रशोधन केन्द्र स्थापना गरी आवश्यक भूभागमा खानेपानी आपूर्ति गर्न सकिने छ । प्रशोधन केन्द्रबाट पूर्व पश्चिम लोकमार्गसम्म मेन पाइप लाइन पु¥याउन मात्र १० किमी लम्बाइ भए पुग्छ । यसरी ४०/४५ किमी मुख्य पाइप लाइनको लम्बाइ घटन जाँदा करिब ७/८ अर्ब बचत हुने प्रत्यक्ष सम्भावना छ । राष्ट्रिय हितको लागि यत्रो ठुलो प्रस्तावित बजेट बचत हुनु भनेको ठुलो उपलब्धि मान्नु पर्छ । खानेपानी आपूर्तिका लागि प्रस्ताव गरिएको बजेट बचाउने एक मात्र उपाय मरिणबाट लखन्देही पानी पठाउनु हो । 

मरिण–लखन्देही अन्तर्गत प्राप्त हुने अर्को उपलब्धिमा वर्षैपिच्छे हुन गइरहेको चुरे दोहनको संरक्षण पनि हुने छ । वन जङ्गल विनाशको कारण वर्षैपिच्छे सुक्खा एवं जर्जर अवस्थामा रहेको चुरे क्षेत्र घाँटीघाँटी भई बग्ने पानीका नहरको कारण उक्त क्षेत्रको अतिक्रमण रोकिन गई हरियाली प्रवर्धनमा टेवा मिल्ने छ । बागमती नहर उत्तरी बेल्टमा सिँचाइ त के अब त खानेपानीको पनि हाहाकार भइसकेको छ । करोडौँ रुपियाँ खर्च भएका डिप बोरिङ पनि पानी सुकेर प्रयोगविहीन भएका छन् । यस्ता कार्यक्रममा वर्षैपिच्छे अनावश्यक बजेट खर्च भएको छ । 

सुक्खा ग्रस्त ठाउँमा जमिनमा पानीको सतह तल, झन् तल झर्दै गएको छ । चुरे क्षेत्रसहित बागमती नहर उत्तरी बेल्टमा रिचार्ज हुने एउटै मात्र निर्विकल्प उपाय हो, मरिणबाट आवश्यक मात्राको पानी लखन्देहीमा पथान्तरण गर्नु । तत्पश्चात् सुक्खा जर्जर जमिन सिञ्चित भई उक्त क्षेत्र हरियालीमा परिणत हुने छ साथै जमिनमा पानीको लेभल पनि माथि–माथि बढ्दै आउने छ । यताका लागि प्रस्ताव गरिएका डिप बोरिङका कार्यक्रम नहरको दक्षिण भाग, नहरभन्दा ५/१० किमी टाढा सार्दा हुन्छ । किनकि नहरको पानी लागेको ठाउँबाट धेरै टाढासम्म ओरालो ओरालो भएको कारण जमिनभित्र पानी भिज्दै भिज्दै परपरसम्म पुगेको हुन्छ । त्यस्ता ठाउँमा बोरिङका कार्यक्रम सफल भई लक्ष्य अनुसारको प्रगति हुने छ । 

नहर उत्तरी भागमा सिँचाइ क्षेत्र समेट्दा थपिएका भूभागको सट्टा नहर दक्षिणतर्फ डिप बोरिङका कार्यक्रम समावेश गरी लक्ष्यभन्दा अझ थप जमिनमा सिँचाइ सुविधा पनि पुर्‍याउन सकिने छ । यो सम्भावनालाई सरकारले उच्च प्राथमिकतामा राख्न आवश्यक छ । जनताको आर्थिक तथा सामाजिक जीवनमा पूर्ण परिवर्तन आउने, बसाइँसराइको क्रम रोकिन गई गाउँ नै सहरमा परिणत हुने छन् । 

 

 

Author

चेतप्रसाद बराल