• १२ साउन २०८१, शनिबार

डा.पुनद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

blog

विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुहुँदै डा.चिनबहादुर पुन मगर । तस्बिर: साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), जेठ ७ गते ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ ।

पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका डा. पुनले म्याग्दीसँग सिमाना जोडिएको कुवापानीस्थित गिद्धेश्वर आधारभूत विद्यालयलाई एक लाख ५५ हजार रुपियाँ मूल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो ।

उक्त कम्प्युटर आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच डा.पुन मगरले वडा अध्यक्ष तिलकबहादुर जिसी र समाजसेवी युवराज अर्मजाको उपस्थितिमा विद्यालय प्रअ राजकुमारी पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टकबहादुर पुनलगायतलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले कम्प्युट सँगै शैक्षिक सामग्री पनि सहयोग गर्नुभएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका डा.पुनले कक्षा पाँचसम्म सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो । 

विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न सहज होस् भन्ने उद्देश्यले विद्यालयलाई कम्प्युटर सहयोग गरेको डा.पुनको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय प्रअ पुनले कम्प्युटर सहयोगप्रति डा.पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । पठनपाठनमा उत्कृष्ट भए पनि बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । विद्यालयमा पुख्र्यौली संस्कार सस्कृती संरक्षण गर्ने उद्देश्यले मगर समुदायको सोरठी नाच समेत सिकाइदै आइएको छ । पाँच कक्षासम्म पढाई हुने विद्यालयमा १६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दुई जना दरबन्दीका र दुईजना निजी स्रोतका शिक्षक अध्यापनरत हुनुहुन्छ ।