• १२ साउन २०८१, शनिबार

भवन निर्माण कार्य अलपत्र

blog

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ ६ गते  । नवदुर्गा गाउँपालिकाको प्रशासकीय भवन विगत तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७९/८० को असारमा पूरा गर्ने गरेर छ करोड रुपियाँको लागतमा ठेक्का भएको भवन निर्माणको काम अलपत्र परेको हो ।

ठेकेदारको लापर्बाहीका कारण भवन निर्माणको काम नभएको गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा भवन निर्माण सुरु गरिएको हो । 

भवन निर्माणका लागि आव २०७६/७७ मा स्वर्गद्वारी ड्रागन जेभी कन्ट्रक्स्नसँग चार करोड ७४ लाख रुपियाँ बराबरमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले अलिअलि काम गर्ने र भुक्तानी लिँदै जाने गरेका कारण निर्माणको काम अधुरै रहेको उहाँले बताउनुभयो ।

सो भवन निर्माणको करिब ८० प्रतिशत काम सकिए पनि २० प्रतिशत बाँकी रहेको बताइएको छ । झ्याल, ढोका, शौचालय, विद्युत् जडानका काम बाँकी रहेका छन् । उहाँले भन्नुभयो, “ठेकेदारलाई घचघच्याउँदा थोरै कामदार ल्याएर केही काम गर्नुहुन्छ । भएको कामको भुक्तानी माग्नुहुन्छ, फेरि हराउनुहुन्छ ।” 

गाउँपालिकाले प्रशासनिक कामकारबाही अस्थायी घरटहराबाट गर्दै आइरहेको छ । वडा नं. २ को जमिनमा रहेको अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ । सेवाग्राहीको भिड लाग्दा बाहिर घाम, पानीमा कुराउनुपर्ने बाध्यता रहेको छ ।