• ७ मंसिर २०८१, शुक्रबार

पुग्नु छ मेरै धरा (कविता)

blog

आमा यो परदेशमा अब छिटै जाने भयो प्राण नै 

गोली बारुदमा फसेर दुनियाँ लाने भयो प्राण नै 

आएँ जीवन खोज्न दूर सहरै छाडेर आफ्ना उतै  

कस्तो आपतमा हुल्यो नियतिले सारा लुट्यो भाग्य नै ।१। 

 रुन्छन जो घरमा सबैजन हेरेर तस्बिरमा  

बाबाले कसरी समाल्नु घर त्यो आफैँ डुबी कष्टमा  

आफ्नै प्राण छुटाउँदै मनुजले के के कुरा देख्छ खै  

लेख्नेले पनि भाग्य लेखिरहँदा के सम्झिँदै लेख्छ खै ।२। 

लासैलास छ बिस्कुनै सरि यहाँ मान्छे भयो राक्षसै । 

मान्छे रोइरहेछ लास नजिकै यो स्वास थामिन्न झैँ 

गोली बन्दुकले चिहाउँछ यहाँ पालो कुरेझैँ गरी  

यो कस्तो दुनियाँ गिँडेर मनुवा गर्जन्छ बाघै सरी ।।३।। 

माग्दै छौँ परदेशबाट भिख जो हा दैव ! देऊ सदा  

यो तातो रणबाट खोस भगवान जाऊँ म मेरै धरा  

आशैआश लिएर बाँचिरहने आँखा छ पर्खाइमा । 

बाटो शुन्य समान देख्छु मनले आशा छ पर्खाइमा ।।४।। 

आओस् देश यहाँ बचाउन भनी बाँचेर फर्कन्छु कि ?

आएनन अब शीघ्रतासँग भने भै लास फर्कन्छु कि ? 

बाँचेरै यदि फर्किएँ मुलुकमा रच्नेछु सायुज्यता । 

आमाको अनुहारमा सुख नयाँ सिर्जन्छु मैले त्यता ।।५।।  

Author

जुनु घिमिरे