• १२ मंसिर २०८१, बुधबार

सीमान्तकृतप्रति बुद्धिजीवीको मौनता

blog

सधैँ अधिनस्थ, पराधीन, पराश्रित, सदियौँदेखि शासित र अत्यधिक श्रम गरेर जीवन निर्वाह गरिरहेका सीमान्तकृत मान्छे छन्; ती वर्ग नै हाम्रो सन्दर्भमा ‘सबाल्टर्न’ हुन् । इटालीका नवमाक्र्सवादी सांस्कृतिक विश्लेषक, चिन्तक आन्तोनियो ग्राम्सी भन्छन्, “शासकहरूबाट शासित भइरहन तयार भएको अवस्था ‘हेजेमोनी’ हो ।”

हेजेमोनी अनेक प्रकार र स्वरूपमा निर्मित छन्; जसमा सांस्कृतिक, सामाजिक, रणनीतिक, राजनीतिक, आर्थिक, बौद्धिकलगायत पर्छन् । प्रभुत्वशाली वर्ग शासक र तिनका बौद्धिक मतियारले विभिन्न वैचारिकी निर्माण गर्छन् । त्यो वैचारिकी हैकमवादी सत्ता, शक्तिको केन्द्र, धर्मको संस्थापन पक्ष र संस्कृतिलाई टेवा पु¥याउने बन्छ । त्यही संस्कार र संस्कृतिमा आफूलाई अन्तरघुलित गरेर आफ्नो शोषण, दमन, तिरस्कार र बहिष्कार गरेको थाहा नै नहुने सामाजिक संरचना, सांस्कृतिक प्रभुत्व निर्माण गरेर अधिनस्थ वर्ग अर्थात् सबाल्टर्न समुदायलाई आफैँमा समाहित गर्नु, सन्निकट राख्नु वर्चस्वशाली सत्ताको चरित्र हो । 

आफैँ शासन गर्न सक्दिनँ भन्ने मनोविज्ञान निर्माण गरेर चेतनामाथि कब्जा गर्नु र शासित हुन तयार छु भन्ने भाष्य निर्माण गरी देशमा आफ्नो प्रभुत्व स्थापित गर्नु हैकमवादी सत्ताको विशेषता हुन्छ । कानुनमा जे भए पनि व्यवहार र समाजले आफ्नो छुट्टै कानुन लगाएर शासन गर्छ; जुन दलित समुदायमा नेपाल, भारत, भुटानलगायतका देशमा गरिँदै आएको छ । विभिन्न अध्ययनका आधारमा भन्न सकिन्छ– किनारामा परेका वा पारिएका, सीमान्तकृत, शक्तिहीन, सामथ्र्यहीन, इतिहासहीन, स्थानहीन र अधिकारविहीन वर्ग नै दलित (सबाल्टर्न) मानिन्छ । सामाजिक हैसियत र कुनै महत्वपूर्ण भूमिका नभएका, आधारभूत रूपमा एउटा मान्छेको दर्जाभन्दा तल राखिएका मान्छेहरू, हजारौँ वर्षको पीडा र दुःखले निर्ममतापूर्वक कुल्चिएको उपेक्षित वर्ग र हेपिएको समुदाय आज पनि न्यायका लागि तड्पिरहेको छ । 

विसं २०७७ जेठ १० गते रुकुमको भेरी नदीमा भएको भयानक जातीय नरसंहारमा देशका बुद्धिजीवी जसरी देश जुरुक्कै उचाल्ने गरेर गर्जिनु पथ्र्यो, त्यसो गरेनन् । रुकुमको भेरीमा बगेको रगत जातीय नरसंहारको मुटु चुँडाउने, मनमस्तिष्क हल्लाउने संरचनात्मक असंवेदनशीलताको द्योतक हो । उक्त घटना भएको चार वर्ष भयो । त्यसपश्चात् पनि सामाजिक विभेद, अपमान, अत्याचारमा  कमी भएको छैन । जातीय भेदका देशभर भएका घटना र दुर्घटना अति अमानवीय छन् ।

हाम्रो सामाजिक मस्तिष्कको गलत उपज छ । यसबारे मौनता किन ? मेचीकाली जताततै जातीय भेदभाव, हिंसा, अपमान हुँदा कुनै धार्मिक सङ्घ, सङ्गठन बोल्दैनन्; कुनै पण्डित, पुजारी, महन्त र ज्योतिषी विरोधमा आवाज निकाल्दैनन् । संरचनात्मक लाभांश लिएकाहरूले अतिरिक्त लाभको लोभ छोड्नेबित्तिकै धेरै सहजता प्राप्त हुने छ, सामाजिक परिवर्तनका लागि वातावरण सिर्जना हुने छ ।

निधारमा कलङ्क बोकेर कति दिन बस्छ हाम्रो मानव सभ्यता ? मानव अधिकार उल्लङ्घन जस्तो गम्भीर विषयमा कति साक्षी बस्नु ? यसबारे गैरदलित बुद्धिजीवीको मौनता एकदमै घातक छ । निम्न जातका भनिएकाहरू मान्छेले पाउने सम्मान र मर्यादाको हकदार बन्न सकेका छैनन् । जातलाई शक्तिको आधार स्वीकार गरेको सामाजिक संरचनाले कथित अछुतलाई मानसिक रूपमै कमजोर बनाउने विभिन्न सामाजिक संरचना निर्माण गरेको छ । जातीय विभेदमा आधारित समाजमा दलितको परिचय नै मान्छेको रूपमा स्थापित हुन सक्दैन । सचेत बन्नै नदिएर दास मानसिकताले युक्त सीमान्तकृत जाति उत्पादन गर्छ र विस्तारै विस्तारै सुस्त सुस्त धकेल्दै सीमान्तीय बनाइदिन्छ ।

प्रसिद्ध समाजशास्त्रीय चिन्तक लुसियाँ गोल्डमानले भने झैँ प्रभुत्वशाली वर्गले मान्छेको वस्तुकरण गरेर, यान्त्रिक परिचालन मात्रै गरेर उसको सिर्जनात्मक क्षमता ह्रास बनाई परतन्त्र स्वीकार गर्न राजी बनाउँछ । जात र लिङ्गलाई नै शक्ति र सत्ताको केन्द्र बनाउने समाजले आफू भोकभोकै बसेर पनि अरूको सेवामा तल्लीन बनाउन दलितलाई सदियौँदेखि उपयोग गरेको छ । यस्तो देख्दा पनि तिनको अधिकार र इज्जत सामाजिक हैसियत निर्माण गर्न चुइँक्क नबोल्ने मानव अधिकारवादीको बिल्ला भिरेर हिँडेका छन् ।

आमबुद्धिजीवी कहलिएकाहरूको धरातल र संस्कृति दमन र उत्पीडनकै हो । तसर्थ उत्पीडितका लागि बोल्न सकस नै मान्छन् । सामाजिक रूपमा चिनिएका, प्रतिष्ठा आर्जन गरेका, राज्यसँग आँखा जुधाएर बोल्न सक्ने कुनै पनि बुद्धिजीवी दलितको दलनमा खुला हृदयले बोल्न सकेका देखिँदैनन् । 

दलहरूको घोषणापत्रमा समेत जातीय छुवाछुतलाई विशेष रूपमा हल गर्ने प्रतिज्ञापत्र नआउनु र त्यसतर्फ दलहरूलाई प्रेरित नगर्नु बुद्धिजीवीहरूको नालायकी र असंवेदनशीलताको अर्को उदाहरण हो । ६० लाख मान्छेको अस्मितालाई पन्छाएर गरिने कुनै पनि कार्य सफल हुन सक्दैन  । परम्परागत बुद्धिजीवीको बर्को खोलेर परिवर्तनकारी बुद्धिजीवी बन्नु आजको बौद्धिक वर्गको कर्तव्य हुनु पर्छ; जुन बौद्धिक वर्गले पार्टीका थिङ्क ट्याङ्कहरूले आफू आबद्ध र शुभेच्छा राख्ने पार्टीलाई दलित विषयलाई हेर्ने र यो मुद्दा गम्भीरतापूर्वक समाधान गर्ने विषयमा मार्गनिर्देश गर्नु अपरिहार्य छ । 

आजको आवश्यकता 

अग्र्यानिक बुद्धिजीवीले व्यापक मानव हित र अधिकारका बारेमा सोच्ने, बोल्ने र प्रभुत्वशाली वर्गमा सबाल्टर्नसँग मिलेर तनाव र दबाब उत्पन्न गर्नु पर्छ  । देशलाई खाँचो त्यस्तै जैविक बुद्धिजीवी, प्राज्ञ, लेखक, पत्रकार, वकिल, अभियन्ता, कलाकार, साहित्यकारको हो; जसले संस्कृति निर्माण र परिवर्तनमा अहम् भूमिका निर्बाध रूपमा निर्वाह गर्न सक्छन् । जसको बोली सुन्न राज्य बाध्य हुन्छ; ती मान्छेले आजपर्यन्त दलितको समस्या दलितको मात्रै हो, आममान्छेको हो भनेर स्वीकार गरेका छैनन् । तिनै मान्छेको मुखमा लागेको बिर्को खोलिनु प¥यो । विवेकमा परेको खिया हटाउनु प¥यो ।

तत्कालीन जातिवादी र प्रभुत्वशाली संस्कृतिले बनाएको सामाजिक र मानसिक संरचनाले ‘हेजेमोनाइज्ड’ भएर स्वीकार गर्न बाध्य हुन्छन् गरिब, विपन्न, महिला, जनजाति र दलित । किनभने सम्भ्रान्त वर्ग, धर्म कहिल्यै सत्ताहीन भएको छैन । यो निरन्तरताका लागि उसले आफू अनुकूल नीति, नैतिकता, धर्म, संस्कृति, परम्परा, दर्शन, नियम, आस्था, मूल्य, कानुन आदिलाई परिभाषित गरेको छ । विशेष गरी दलितलाई न्यूनतम मानवीय व्यवहारबाट समेत वञ्चित गरिन्छ, जसको जनसङ्ख्या मुलुकमा १४ प्रतिशतभन्दा माथि छ ।

विगतदेखि आफ्ना पितापुर्खाले सामाजिक व्यवहारका रूपमा गर्दै आएको जातीय छुवाछुत जस्तो सामाजिक र कानुनी अपराध, मानव अधिकारको उल्लङ्घन र असभ्य मान्छेको संस्कृति, रीत परिवर्तन गर्न बौद्धिक र प्राज्ञिक समुदायले आफ्नो कर्तव्य धर्म पालनालाई फराकिलो आयामबाट हेर्न जरुरी छ । समाजप्रतिको योगदान सम्झेर लेख्न, बोल्न र संस्कृतिको नवीन भाष्य सिर्जना गरेर प्रभुत्वशाली संस्कृतिलाई भुत्तो पार्दै, च्यादै हिँड्न विलम्ब गर्नु हुँदैन ।

अमर्यादाका बार भत्काएर मर्यादा, सम्मान, विश्वास, भ्रातृत्व, समता र सहयोगका पिल्लरहरू खडा गर्नु पर्छ । आपसी अविश्वास र मनोमालिन्य हटाएर दलित, गैरदलित सबैको हातेमालो र सहकार्यबाट मात्रै जातीय भेदको जन्जिर चुँडाउन सकिन्छ । त्यसका लागि बौद्धिक लेखक, कलाकार, साहित्यकारले नूतन संस्कृति र परिवर्तनको भाष्य आफ्ना रचनामा व्यक्त गरेर बौद्धिक जागरण, नैतिक आन्दोलन र वैचारिक प्रतिरोधको हतियार धारिलो बनाउनु पर्छ । वादको प्रतिवाद र तन्त्रको प्रतितन्त्र विकास गरेर समाज रूपान्तरणमा अगुवाइ गर्न र इतिहास निर्माण गर्न अर्गानिक बुद्धिजीवीले विशेष पहल लिनु अनिवार्य छ । केही मान्छेको सामान्य जागरणको हतियार भुत्ते र कमसल बनेको छ । त्यसमा पाइन राख्न, अरूलाई पनि वैचारिक भट्टीमा खार्न, धार लगाउन नयाँ समतामूलक वैचारिक आरन निर्माण गर्न जरुरी देखिन्छ ।

आममान्छेको नैतिकतालाई जातीय भेदको कसीमा पनि उतार्नु पर्छ । जस्तो कि कुनै उच्चपदस्थको गाउँसमाजमा भएको जातीय विभेदयुक्त बर्बर, हिंस्रक र मानसिक हिंसाको प्रताडना उसको नैतिकता क्षय हुने कारण बनोस् । जसले गर्दा उसको पनि कर्तव्य र भूमिका समाजमा जातीय विभेद अन्त्यका लागि स्वतः क्रियाशील बन्दै जान्छ । उत्तरदायित्व बोध गर्ने संस्कृति फस्टाउँदै जान्छ । हामी हिन्दु धर्मलाई उदार र सहिष्णु धर्म भन्छौँ । यही धर्मको वर्णव्यवस्थाको कलङ्कका रूपमा जातीय छुवाछुत विकास भएको पाइन्छ । स्वयं हिन्दु धर्मावलम्बीलाई नै अछुत, पानी नचल्ने, छुन नहुने र छोइछिटो हाल्ने जातका रूपमा चित्रित गरेर मानिसलाई आधारभूत तहभन्दा तल राखेको छ । सो समुदाय मान्छे हुने हकबाट समाजको धार्मिक र सामाजिक परम्परागत कानुनबाट वञ्चित छ ।

जातीय रूपमा किनाराकृतलाई सधैँ उठ्न नसक्ने गरी थिचेर नियन्त्रणमा राख्नु पर्छ भन्ने भाष्य संस्कार र सामाजिक आचार समाजले निर्माण गरेको बलियो हतियार हो । हाम्रो जात नै यस्तै हो, हाम्रो नियति नै यस्तै हो; जसलाई पचाउनु र सहनुको विकल्प छैन । यी तमाम कुरा भाग्यको खेल हो, यसको प्रतिरोधसमेत पाप हो । ऊ जन्मको फल जन्मजन्मान्तरको हिसाबकिताब हो यो अवस्था भनेर कथित शक्तिशाली वर्ग र तिनका परम्परागत बुद्धिजीवीले घोलिदिएको जातको विषले थिलथिलो परेर बसेको समाजमा अविरोधको अवस्था सिर्जित छ । 

चुलो छोएको निहुँमा, सार्वजनिक धारा, कुवाको पानी छोएको कारण देखाएर कुटपिट अपमान गर्दै कालोमोसो दल्ने, जुत्ताको माला लगाउने, मलमूत्र खुवाइदिने र ज्यानसमेत लिने घटना गराइन्छ । झन् उच्च जातिसँग बिहे र प्रेम गरेको बहानामा मृत्युदण्ड नै दिने कठोर कानुन छ समाजसँग । यसको आलो उदाहरण रुकुमका नवराज विकलगायत छ जनाको हत्या र त्यसपछि पनि देशभर भइरहेका जातीय कारणका हत्यालाई लिन सकिन्छ । जातव्यवस्थाको नामको क्रूर कानुनले नेपालको संविधानलाई सधैँ चुनौती दिएको छ । दुई हजार वर्षअघि राजा मनुले बनाएको धर्मशास्त्र अनुसार चलेको हिन्दु समाजले श्रम र उत्पादनका सबै पेसा, कर्म र कर्मीलाई अछुत र हीन ठान्ने संस्कृति बनाएको छ । राजा जयस्थिति मल्लले सन् १३६०–१३९५ मा चार जात ३६ वर्ण र ७२५ उपजात कायम गरेर गुरुपुरोहितका इसारामा छुवाछुतलाई कानुनी रूपमा लाद्ने काम गरे ।

सबाल्टर्न पीडा मात्रै सहन्छन्, बोल्न सक्दैनन् भन्ने मान्यतालाई चिर्न बोल्नु पर्छ । सामाजिक अभियन्ता, लेखक र प्रबुद्ध वर्गले दलित, गैरदलित सबैमा आर्थिक, सांस्कृतिक, धार्मिक रूपमा किनारामा धकेलिएको कुरालाई कलात्मक तवरले भनिदिनु पर्छ । जागृतिको बीज अङ्कुरण गरिदिनु पर्छ । काउन्टर हेजेमोनी खडा गरेर वैचारिक प्रतिवाद गर्नु पर्छ । समाजलाई सभ्य र सुसंस्कृत बनाउन सबैको भूमिका र योगदान उत्तिकै रहन्छ । त्यसमाथि ‘अर्गानिक इन्टेलेक्च्युअल’ को विशेष र गहन भूमिका छ । घातक मौनता चिरेर बौद्धिक वर्ग सांस्कृतिक आन्दोलन, सडक आन्दोलन र सामूहिक आन्दोलनमा निस्कनु नै राज्यलाई प्रभावकारी कदम चाल्न बाध्य पार्ने हतियार हो । सुधार विस्तारै हुन्छ, क्रमिक रूपमा सुधार भइरहेकै छ नि भनेर मान्छेलाई मान्छे बन्ने सवालमा बिस्तारै र क्रमिक सुधारको अवधारणा प्रकारान्तरले छुवाछुत र विभेदलाई कायमै राख्नु गलत हो । तसर्थ अग्रगामी र क्रान्तिकारी छलाङ आजको पहिलो सर्त, सूत्र र सुरुवात हुनु पर्छ । मानवताको घोषित/अघोषित हत्यामा मौन बस्ने छुट कसैलाई छैन । बोल्नुपर्ने मान्छे पनि नबोल्नु र मौन बस्नु भनेको आफ्नो कर्तव्यबाट च्युत हुनु हो ।

  

Author

सञ्जीव कार्की