• १२ साउन २०८१, शनिबार

किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ

blog

किसानलाई धानको बीउ वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, जेठ ४ गते । दाङमा ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । दंगीशरण गाउँपालिका कृषि शाखाले गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको हो । 

कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गर्ने उद्देश्यले सात लाख मूल्य बराबरको २० वटा कृषक समूहका करिब नौ सय किसानलाई धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख सरूँ भुसालले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतिकिसानलाई दरले बीउ वितरण गर्नुभएको थियो । सङ्घीय सशर्त कार्यक्रमअनुसार उन्नत धानको बीउ बहुगुणी –१, सुक्खा –२, चैते –५, हर्दिनाथ –६, रामधन लगायतका धानको बीउहरू वितरण गरिएको हो ।

उन्नत जातको धानको बीउ वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले परम्परागत खेती प्रणाली हराउँदै गएको अवस्थामा आधुनिक खेती प्रणालीमा किसानलाई आकर्षित गर्न उन्नत जातको धानको बीउ वितरण गरिएको बताउनुभयो ।  अध्यक्ष गिरीले धानको बीउसँगै किसानलाई कृषिऔजार तथा उपकरणहरू वितरण गर्ने तयारीमा रहेको बताउनुभयो ।  

गाउँपालिका अध्यक्ष गिरीले भन्नुभयो, ‘किसानलाई आर्थिक रूपमा समृद्धि बनाउनका लागि पालिकाले बिउदेखि यान्त्रीकरणमा सहयोग गर्ने कार्यक्रम रहेको छ । त्यही क्रममा अहिले बीउ वितरण गरेका छौँ, अव यान्त्रीकरण पनि सहयोग गर्ने छौँ ।’ प्रविधिका माध्यमबाट कृषि व्यवसायलाई सहज बनाउन सहयोग गर्ने बताउनुभयो ।