• १२ साउन २०८१, शनिबार

बेनीमा क्रिकेट प्रतियोगिता

blog

गत शनिबार खुला मञ्चमा क्रिकेट खेलाडी क्रिकेट खेल्दै। तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ ४ गते। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा शनिबार टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन हुने भएको छ। उद्घाटनको दिनमा दुई खेल हुने जिल्ला क्रिकेट सङ्घ म्याग्दीले जनाएको छ।

जिल्ला क्रिकेट सङ्घ म्याग्दीको आयोजनामा हुने क्रिकेट प्रतियोगितामा म्याग्दी जिल्ला भित्रका चार टिमको सहभागिता रहने छ। प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दी क्रिकेट क्लब, रत्नेचौर क्रिकेट समूह र बगरफाँट क्रिकेट क्लबले सहभागिता जनाउने क्रिकेट सङ्घ म्याग्दीका अध्यक्ष प्रविन पौडेलले जानकारी दिनुभयो। जेठ ५ गते शनिबारदेखि सुरु हुने उक्त प्रतियोगिता जेठ १२ गते सकिने छ। जेठ ५ गते उद्घाटनसहित दुई खेल हुने र जेठ १० र ११ गते दुई/दुई खेल हुनेछ। फाइनल खेल भने जेठ १२ गते हुनेछ। 

प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइने भएकाले हरेक टिमले तीन/तीन खेल खेल्ने छन्। लिग समूहको शीर्षस्थानमा रहने दुई टिमबिच जेठ १२ गते फाइनल हुने क्रिकेट सङ्घ म्याग्दीका कोषाध्यक्ष सौरभ किसानले जानकारी दिनुभयो। प्रतियोगिताका सबै खेल बेनी बजारको खुला मञ्चमा खेलाइने सङ्घले जनाएको छ।

लामो समय सम्म क्रिकेट प्रतियोगिता नभएको म्याग्दीमा बेनी बजारमै हुने प्रतियोगिताले क्रिकेट खेलको प्रभावलाई बढाउने अपेक्षा गरिएको सङ्घका सचिव छवि आचार्यको भनाइ छ। यस भन्दा अगाडि २०७४ सालमा न्यु जेनेरेसन क्लबले न्यु जेनेरेसन कप–२०७४ आयोजना गरेको थियो। 

भारतीय सेनाका सेवा निवृत्त ध्रुव जिसीको अगुवाइमा सुरु भएर लगातार तीन वर्षसम्म प्रतियोगिता सञ्चालन गरेको न्यु जेनेरेसन क्रिकेट क्लबले २०७४ पछि भने क्रिकेट गतिविधि बन्द गरेको थियो। त्यस पछि शून्य प्राय रहेको क्रिकेटलाई माथि उठाउनका लागि यो प्रतियोगिता फलदायी हुनेअपेक्षा गरिएको उहाँको भनाइ छ।



जिल्ला क्रिकेट संघ म्याग्दीले अयोजना गरेको प्रतियोगितामा पहिलो हुनेले १५ हजार नगद र दोश्रो हुनेले १० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन्। साथै प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न विधामा पुरस्कृत गरिने क्रिकेटर भरत धामीले जानकारी दिनुभयो। प्रतियोगितामा अहिले चालु अवस्थामा रहेको इन्डेन प्रिमियर लिग (आइपिएल)मा जस्तै इम्प्याक्ट प्लेयरको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ। 

उत्कृष्ट बलर, ब्याट्सम्यान, प्लेयर अफ् द म्याच र प्लेयर अफ द सिरिज वितरण गरिने धामीको भनाइ छ। खेल तालिका सार्वजनिक भइसकेको र सबै टिम आ–आफ्नो तयारीमा लागेकोले पनि खेल समयमै सुरु हुनुका साथै सम्पन्न हुने उहाँको भनाइ छ।

प्रतियोगिता सञ्चालन गर्नका लागि खेलाडी स्वयंमले नै आर्थिक व्यवस्थापन गरेको हुनाले पुरस्कार राशी कम देखिएको क्रिकेटर दिपक बिकले जानकारी दिनुभयो। 


प्रतियोगिताको खेल तालिका ।