• १२ साउन २०८१, शनिबार

वैशाखमा उनान्सत्तरी लाख भेटी

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा वैशाख महिनामा उनान्सत्तरी लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी विवरण अनुसार वैशाख महिनामा कुल ६९ लाख ३२ हजार चार सय रुपियाँ सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम समितिले सङ्कलन गरी सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ । 

ताप्लेजुङस्थित नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा भेटी रकम जम्मा गरिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । पछिल्लो समय समितिले पाथीभरामा सङ्कलन हुने भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्दै आएको छ । 

एक लाख भक्जतन 

चैत वैशाखमा मात्र एक लाखभन्दा बढी भक्तजनले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा दर्शन गर्ने दोस्रो मुख्य याम भएकाले चैत र वैशाखमा बढी भक्तजन पाथीभराको दर्शन गर्न पुग्ने गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दुई महिनामा कुल एक लाख चार हजार २५९ भक्तजनले पाथीभराको दर्शन गरे । समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार वैशाखमा ५१ हजार ८०४ जना भक्तजनले पाथीभराको दर्शन गरे । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा भने दुई लाख २० हजार २७२ जना भक्तजनले पाथीभराको दर्शन गरेका समितिले जनाएको छ । 

यस्तै नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल, आसामलगायतबाट उल्लेख्य रूपमा भक्तजन पाथीभरा दर्शन गर्न आएको समितिले जानकारी दिएको छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभराको दर्शन गर्ने मुख्य याम भने असोज/कात्तिकमा पनि उत्तिकै भिड लाग्ने गरेको छ ।