गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन १७ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ।
गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोलीलिई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुग्नुभएका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले निर्वाचनमा कुनै किसिमको गैर कानूनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गरिने बताउनुभयो। साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षालाई समेत प्राथमिकतामा राख्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभयो।
अनुगमन तथा निरीक्षणको क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति गर्नुभयो। जिल्लाको वस्तुस्थितिबारे जानकारी लिइसकेपश्चात मन्त्री अर्यालले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफूले नेतृत्व गीररहेको जिल्लाको सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिनुभयो।
अनुगमनको क्रममा बांकेको नेपालगन्जमा भएको कार्यक्रममा जिल्लाको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरु, सुरक्षा निकायका लुम्बिनी प्रदेश ईन्चार्जहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताउनुभयो ।