• १२ साउन २०८१, शनिबार

अमरसिंह थापाको नयाँ सालिक राखिँदै

blog

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ ४ गते । खलङ्गास्थित ढुङ्गे अमरगढी किल्लामा रहेको बडाकाजी अमरसिंह थापाको पुरानो सालिक हटाई नयाँ राखिने भएको छ । सो सालिकको अनुहार थापाको अनुहारसँग नमिल्ने भएकाले हटाएर नयाँ राखिने भएको हो । नेपाली सेना रणबम गणले पुरानो सालिक हटाई नयाँ सालिक स्थापना गर्न लागेको अमरगढी किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरूले जानकारी दिनुभयो । 

अङ्ग्रेजसँगको लडाइँका लागि निर्माण गरिएको ढुङ्गे अमरगढी किल्लामा प्रथम बडाकाजी अमरसिंह थापा आउनुभएको इतिहास छ । अमरगढी किल्लाकै नामबाट नगरपालिकाको नामकरण गरिएको थियो । 

तत्कालीन पाँच वटा गाविसलाई गाभेर २०५३ सालमा अमरगढी नगरपालिका बनाइएको थियो । नगरपालिकाको स्थापनापछि अमरगढी किल्लाको प्रवेशद्वारमा अमरसिंह थापाको सालिक स्थापना गरिएको हो । सो सालिकको अनुहार थापासँग नमिलेको भन्दै हाल परिर्वतन गरिन लागेको रणबम गणका गणपति उज्ज्वल थापाले बताउनुभयो । उहाँका अनुसार रणबम गणका जवानले अमरगढी किल्लामा सरसफाइ गरेका छन् । 

श्री ५ रणबहादुर शाहको शासनकाल विसं १८४७ भदौ ३१ गते नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारिदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्य राज्यमा गाभिएको इतिहास रहेको छ । नारिदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा १० कम्पनीका सैनिक जवानले  डोटेली राज्यसँग घमासान युद्ध गरेका थिए ।

युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आउनुभएको थियो । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८ औँ शताब्दीमा गर्नुभएको बताइएको छ ।