• १२ साउन २०८१, शनिबार

मक्का मदिना जाने हजयात्रीकाे बिदाइ

blog

नेपालगन्जबाट जाने हाजीहरुको बिदाइ गरिँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, जेठ ३ गते ।
साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले बिदाइ गर्नुभयो ।

बाँके जिल्लाबाट यस वर्ष हज गर्न जाने ११३ जना पुरुष र महिलाहरुलाई नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राई, हज समितिका सदस्यहरु, आफन्तजन तथा समुदायका अगुवाहरुले फूल माला लगाएर बिदाइ गर्नुभयो ।

सो अवसरमा प्रमुख बिष्ट र उपप्रमुख राईले हजयात्राको सफलताको शुभकामना दिनुहुँदै हज जस्तो पवित्र कार्य गर्न जान पाउनु हरेक मुस्लिमका लागि सौभाग्यको कुरा भएको बताउनुभयो ।

उहाँहरुले हाजीका लागि स्थानीय सरकारले पनि आगामी वर्षबाट केही कार्यक्रम राख्ने तथा हाजीहरुको हजलाई सरल र सफल बनाउन समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

सो अवसरमा मदरसा फैजुन्न्बी जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका महासचिव इर्फान सिद्दिकी, सदस्य ज्याउल हक, अगुवा मेराज अहमद हलवाई लगायतको पनि उपस्थिति थियो ।

हाजीहरुलाई बिदाई गर्न ठुलो सङ्ख्यामा महिला, पुरुषलगायत समुदायबाट सर्वसाधारण बीपी चोक पुग्नुभएको थियो । छुट्टिनुपर्दाको पीडा आफन्तका आँखामा प्रष्ट देखिन्थ्यो ।

सो अवसरमा हज यात्रीहरुले ‘भूलवश भएका गल्ती र कमी कमजोरी’ बिर्सन पनि  सबैसँग अनुरोध गरिरहनुभएको थियो । बाँकेबाट यस वर्ष ११३ हाजी मक्का मदिनाका लागि प्रस्थान गर्नुभएको छ ।

बाँकेका हजयात्रीहरु जेठ ५ गते काठमाडौँबाट मक्काका लागि उड्ने कार्यक्रम रहेको हज समितिले जनाएको छ ।

इस्लाम धर्ममा आवश्यक परिमाणमा धन हुने हरेक मुस्लिमले जीवनमा एकपटक हज गर्न अनिवार्य छ । गरिब र विपन्नलाई भने हज अनिवार्य छैन ।

हजयात्रीको बिदाइ कार्यक्रमका लागि निःशुल्क खानेपानी र विभिन्न ड्राई फ्रुटको व्यवस्था अमेरिकामा रहनुभएका नेपालगन्जका समाजसेवी युवा राजा खानले गर्नुभएको थियो ।

उहाँले अमेरिकामा बसेर पनि नेपालगन्ज र सो वरिपरिका लागि विभिन्न कार्यक्रममा सहयोग गर्दै आउनुभएको छ ।