• ८ मंसिर २०८१, शनिबार

भारत फिर्ता गरिँदै रक्तचन्दन

blog

काठमाडौँ, जेठ ३ गते  । नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने तयारी सुरु भएको छ । वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढाएको हो ।

मन्त्रीपरिषद् बैठकले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ उत्पत्ति भएको मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । यस पटकको निर्णयले २०६४ सालदेखि बरामद गरेर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउने देखिएको छ । 

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता बद्रीराज ढुङ्गानाले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय भएलगत्तै मन्त्रालयलाई पत्र प्राप्त भएकाले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर पठाएको जानकारी दिनुभयो । “मन्त्रीपरिषद् बैठकबाट भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय भएपछि आइतबार मन्त्रालयलाई जानकारी भयो । हामीले सोमबार (आज) परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पठाएका छौँ,” उहाँले भन्नुभयो, “उहाँहरू (परराष्ट्र मन्त्रालय) ले नेपालमा रहेको भारतीय दूतावासलाई रक्तचन्दन फिर्ता लिन पत्र पठाउनुहुने छ । भारतबाट जति छिटो रक्तचन्दन फिर्ता लिन पत्र प्राप्त हुन्छ, त्यति छिटो जाने छ ।” 

उहाँले सरकारले निर्णय गरेको ९० दिनभित्र नेपालको सीमा कटाएर रक्तचन्दन पठाइसक्नुपर्ने व्यवस्था रहेको बताउनुभयो । “यसअघि भारतले रक्तचन्दन लिने इच्छा देखाए पनि तयारी नपुगेको भनेर लिन सकेनन् । उनीहरूले रक्तचन्दन फिर्ता लिन गम्भीर छौँ भनेर पत्र लेखेर पठाएका छन्,” उहाँले भन्नुभयो, “भारतले जति छिटो तयारी गरेर पत्र पठाउँछ, त्यति छिटो रक्तचन्दन फिर्ता हुने छ ।” उहाँले नेपालका विभिन्न १८ जिल्लामा भएको रक्तचन्दन भारतले आफ्नै खर्चमा स्वदेश लैजाने तयारी गरेको बताउनुभयो । 

यस्तै वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले यस पटक भारतले रक्तचन्दन फिर्ता लिने विश्वास व्यक्त गर्नुभयो । “रक्तचन्दन राम्रो छ । केही बिग्रेको छैन । प्रयोग गर्न मिल्छ । तस्करी गरेर तेस्रो देश लिन लागेको नेपालले बरामद गरेर सुरक्षित तरिकाले राखिदिएको छ,” उहाँले भन्नुभयो, “योभन्दा पहिले रक्तचन्दन फिर्ता लिने निर्णय भए पनि दसैँ परेकाले समय अभावले लिन सकेनन् । यो पटक रक्तचन्दन लिने छन् ।” 

रक्तचन्दन थन्किएर राखिएका जिल्ला सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङमा छन् । बरामद गरेर राखिएका रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ । भारतले रक्तचन्दन नलिँदा काठमाडौँलगायत अरू जिल्ला सदरमुकाममा रहेको महत्वपूर्ण जग्गा ओगट्नुका साथै सुरक्षा व्ययभार थपिएको छ ।  

२०६५ सालमा बसेको मन्त्रीपरिषद् बैठकले ५४ हजार ११२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यसै गरी २०७१ फागुन १२ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । २०७६ साल पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको थिएन । 

भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको थियो । धार्मिक प्रयोजनसँगै औषधीमा रक्तचन्दन प्रयोग हुने भन्दै चीनलगायत तेस्रो मुलुक निर्यात हुने गरेको थियो । पछिल्लो समय रक्तचन्दन तस्करी रोकिएको वन मन्त्रालयका कर्मचारी बताउँछन् ।  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।