काठमाडौँ, जेठ २ गते । आइसिसी विश्वकप तयारीका लागि अमेरिकामा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा जित निकालेको छ ।
पार्क हिल मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजलाई चार विकेटले हरायो । जितका लागि एकसय ९७ रनको लक्ष पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७० रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले ५२ र सोमपाल कामीले ३२ रन बनाउनुभयो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भोलक्यानोजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो । नेपालले भोलक्यानोजसँग बिहीबार र शनिबार पनि अभ्यास खेल खेल्ने छ ।
विश्वकप अघि नेपालले आइसिसीले तय गरेको दुई अभ्यास खेल पनि खेल्नेछ । टी–२० विश्वकप जुन १ तारिख देखि सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
यस्तै नेपालले समूहको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बङ्गलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।