• १३ साउन २०८१, आइतबार

भारतीय बाटो हुँदै खलङ्गाको कुञ्चा व्याँस उक्लियो

blog

बस्तुभाउ, लालाबाला र बन्दोबस्तको सामानसहित कुञ्चा सर्दै व्याँसवासी । तस्बिर: लोकेन्द्र जोशी

दार्चुला, जेठ २ गते । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ का व्याँसी सौका समुदायको कुञ्चा (बसाइसराइ) खलङ्गाबाट व्याँस पुगेको छ । सदरमुकाम खलङ्गाबाट भारतीय बाटो प्रयोग गरी व्याँसीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो ।

छाङरुबाट १२ किलोमिटर दूरीमा रहेको टिंकर गाउँमा गत बुधवार पहिलो पटक कुञ्चा पुगेको थियो । अहिलेसम्म सबै कुञ्चा गाउँ पुगिसकेको स्थानीयले बताएका छन् । कुञ्चा खलङ्गाबाट पारि (भारतको धारचुला) हुँदै पाँच दिन लगाएर सितापुलबाट वारि (नेपाल) भित्रिने गरेको छ । धारचुलाबाट महाकाली नदीको किनारै किनार सीता पुलसम्म र त्यहाँबाट टिंकर खोलाको किनारै किनार पैदल बाटो भएर टिंकरका बासिन्दाको कुञ्चा सरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । उच्च हिमपात र जाडोका कारण यी दुई गाउँका स्थानीय हिउँदको समय खलङ्गामा बसाइ सर्दै आएका छन् । हरेक वर्ष चैत–वैशाखमा भने आफ्नो थातथलो फर्किने गर्छन् ।

व्याँसमा आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार स्थानीयले पूजापाठ, पशुपालन र खेतीपाती व्यवसाय गर्दै आएका छन् । खलङ्गाबाट टिंकरका लागि गाईबस्तु, खाद्यान्न र बन्दोवस्तीका सामानसहित हिँडेको कुञ्चा गाउँ पुगिसकेको स्थानीय नगेन्द्र तिंकरीले बताउनुभयो । वैशाखदेखि कात्तिकसम्मको बसाइँ गाउँमै हुने भएकोले स्थानीयले गाईवस्तुसँगै खाद्यान्न र बन्दोबस्तका सामान पनि बोकेर जानुपर्ने उहाँको भनाइ छ ।

द्वन्द्व अघिसम्म स्वदेशकै बाटो भएर आवतजावत गर्न मिल्ने भए पनि त्यसयता बाटो मर्मत नहुँदा व्याँसबासीले समस्या भोग्दै आएका छन् । स्वदेशबाट कुञ्चा सार्ने भरपर्दो बाटो नहुँदा स्थानीय भारतको बाटो प्रयोग गरी आवतजावत गर्दै आएको स्थानीय योगेश बोहराले बताउनुभयो । भारतीय बाटो प्रयोग गर्नुपर्दा भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार सहनुपर्ने बाध्यता छ । कुञ्चा सार्ने बाटो भारत सरकारको निषेधित क्षेत्रमा पर्ने हुँदा व्याँस जाँदा यहाँका स्थानीयले भारतीय पक्षले बहुयात्रा अनुमति दिएपछि मात्र जान पाउँछन् । नेपाली प्रशासनको सिफारिसका आधारमा भारतीय पक्षले अनुमति पत्र दिने गरेको छ ।

वैशाख २५ गते गृह सचिवको नेतृत्वमा सुरक्षा अङ्गका प्रमुखहरूले सेनाको हेलिकोप्टरमार्फत व्याँसक्षेत्रको भ्रमण गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी मङ्गलवार हेलिकोप्टरमार्फत टिंकर पुग्दा स्थानीयको कुञ्चा बाटोमै थियो । टिंकर गाउँभन्दा दुई किलोमिटरको दूरीमा रहेको छिया लेकमा हेलिकोप्टर ल्यान्ड गरिएको थियो । प्रहरी प्रमुख द्वय हेलिकोप्टरबाट टिंकरको छियालेक पुगेका थिए भने गृहसचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख छाङरुमै झरेका थिए । गृह सचिव र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखले छाङरुका केही स्थानीयसँग स्थानीय आवश्यकता र वस्तुस्थितिबारे छलफल गरेको बताइएको छ । टिंकरको छियालेक पुगेका आइजिपी द्वयले त्यहाँ कार्यरत सुरक्षाकर्मीसँग भौगोलिक अवस्थिति र सुरक्षा व्यवस्थापनबारे कुराकानी गर्नुभएको थियो ।

विगतका वर्षहरूमा टिंकरका स्थानीयवासी कुञ्चा पुगेपछि मात्रै सुरक्षाकर्मी छियालेक पुग्ने गर्थे । यस पटक स्थानीयको कुञ्चा टिंकर पुग्नु अगावै गृह सचिव नेतृत्वको टोली व्यास क्षेत्र भ्रमण आएकोले प्रहरी र सशस्त्र प्रहरीको टोली गत आइतबार नै छियालेक पुगेको थियो ।