हुम्ला समाचारदाता
हुम्ला, असार ३० गते । हिमपहिरोको उच्च जोखिममा रहेको नाम्खा गाउँपालिका–६ को तिलगाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन् । हिमपहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तिलगाउँवासीले यस्तो निर्णय गरेका हुन् । लिमीको तिलगाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्दै आउनुभएका छिरिङ छिमेल तामाङले हिमपहिरोपीडित सबै गाउँ छोडेर जाने निर्णय गरेको बताउनुभयो । गाउँमा बसेको बैठकले असुरक्षित महसुस गर्दै अब गाउँ छाडेर काठमाडौँ जाने निर्णय भएको उहाँले जनाउनुभयो ।
जहिले पनि तिलगाउँ हिमपहिरोको उच्च जोखिममा रहेको स्थानीयले निष्कर्ष निकालेको र आउने कात्तिक/मङ्सिर महिनापछि गाउँ नै छाडेर जाने निर्णय गरिएको उहाँले बताउनुभयो । अर्का स्थानीय छिरिङ्बा लामाले डर र त्रासले गर्दा आफूहरूलाई गाउँ छोड्ने निर्णय गर्न बाध्य भएको बताउनुभयो ।
हिमपहिरो जाँदाको रात सम्झिँदै उहाँले त्यो दिन कसरी बाँचिएछ भन्ने लाग्न थालेको जनाउनुभयो । घरका सदस्यमध्ये तीन जना हाल काठमाडौँमा बस्दै आएको जानकारी दिनुहुँदै उहाँले जसरी पनि गाउँ छोडेर काठमाडौँ आउन आग्रह गरेको लामाले बताउनुभयो । घरमा ताला लगाएर जग्गा बाँझो राख्ने भए पनि भएका पशुवस्तु भने कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उहाँको भनाइ छ ।
त्यसै गरी लिमीको वडाध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तिलगाउँका केही घरधुरी पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब गाउँ छाडेर जाने निर्णय गर्न बाध्य भएको जानकारी दिनुभयो । तिलगाउँवासीको यो निर्णयपछि सम्झाउन खोजे पनि उहाँहरू गाउँ छाड्ने अन्तिम निर्णय गरिसकेका कारण रोक्न नसकिने उहाँले बताउनुभयो ।
लिमीमा गाउँको साझा निर्णय सरकारी नियम जस्तै मान्दै आउनु भएछ । तीलगाउँ खाली हुने निश्चित भएपछि वडाले प्रयास गर्दा नमानेको र अब गाउँपालिका र प्रदेशले केही सुरक्षित महसुस हुने खालको योजना ल्याए रोक्न सकिन्छ कि भन्ने लागेको बताउनुुभयो । तिलगाउँमा हाल २३ घरधुरी छन् । गत जेठ १ गते हिमतालको पानी चुहिएर पहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल तीलगाउँका स्थानीय गाउँपारिको सुरक्षित चौरमा बास बस्दै आएका छन् । बिहान घरमा आउने काम गर्ने तर बेलुका भने त्रिपालमा गएर सुत्दै आउने गरेका छन् ।