• १३ साउन २०८१, आइतबार

मुख्य सडकका खाल्टाखुल्टी टालिँदै

blog

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ २ गते । स्याउले–बागबजार–तुफानडाँडा बजार क्षेत्रको मुख्य सडकका खाल्टाखुल्टी वर्षौंपछि पुरिन थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग र महाकाली राजमार्ग क्षेत्रमा परेका खाल्टाखुल्टी बल्ल पुरिन थालिएको हो । 

२०५४ सालपछि मात्रै कालोपत्रे भएको महाकाली राजमार्गको यस खण्डमा परेका खाल्टाखुल्टी यसअघि २०७९ मङ्सिर महिनामा टालिएका थिए । चुनावको मुखैमा मङ्सिरको चिसोमा टालिएका खाल्टाखुल्टी चुनाव सकिए लगत्तै उप्किएको हो । सडक डिभिजन कार्यालय कुलपाते डोटीले एक करोड २० लाख रुपियाँ बराबरको ठेक्का सम्झौता गरी कालोपत्रे सडकमा ओभर ल्यापिङ गर्ने काम भइरहेको सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो । 

महाकाली राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–१ को स्याउले बजारदेखि छ किलोमिटर सडकखण्डका खाल्टाखुल्टी पुरेर ओभरल्यापिङ गर्ने काम भइरहेको उहाँले बताउनुभयो । निर्माण कम्पनी दाना निर्माण सेवासँगको ठेक्का सम्झौतामा उक्त काम भइरहेको उहाँले बताउनुभयो । पाँच मिटर फराकिलो रहेको कालोपत्रे सडकमा ओभरल्यापिङको काम भइरहेको छ । 

दाना निर्माण सेवाका सञ्चालक रमेश विष्टका अनुसार सोमबारदेखि मौसममा भएको आंशिक बदली र पानी पर्ने भएकाले काम गर्न कठिनाइ भइरहेको छ । स्याउले बजारदेखि काम सुरु गरी बागबजारको बसपार्कसम्म ओभरल्यापिङ गर्ने काम सकिएको छ । हाल बागबजारदेखि तुफानडाँडा बजारसम्मको क्षेत्रमा ओभरल्यापिङ गर्ने काम भइरहेको छ । अलकत्रामा चिप्स, गिट्टी आगोमा तताएर ओभरल्यापिङ गर्नु पर्दछ । पानी पर्ने गरेकाले आगोमा पकाउन र सडकमा कालोपत्रे गर्न कठिनाइ हुँदा काममा ढिलाइ भइरहेको उहाँले बताउनुभयो । 

प्रायः सधैँ व्यस्त रहेको जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा क्षेत्रको सडकमा खाल्टाखुल्टी हुँदा आवतजावतमा समस्या हुने गरेको थियो । साँघुरो सडकमा यातायातका साधनका साथै हिँडडुल गर्न समस्या हुने गरेको उग्रतारा डडेलधुरा सार्वजनिक यातायात प्रालीका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । यातायातका साधन चालकले खाल्टाखुल्टी छलेर गाडी चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेको र बजार क्षेत्र धुलाम्मे हुने गरेको छ । खाल्टाखुल्टी पुरिन थालिएपछि गाडी सञ्चालनमा सहज भएको उहाँले बताउनुभयो । 

महाकाली राजमार्गको डडेलधुरा–बैतडी जोड्ने अनारखोली–भालुमारे खण्डमा ओभरल्यापिङ गर्न टेन्डर आह्वान गरिएको सडक डिभिजन कार्यालय कुलपातेका प्रमुख भट्टराईले जानकारी दिनुभयो । सो खण्डको आठ किलोमिटर सडक ओभरल्यापिङका लागि चार करोड रुपियाँ बराबरको टेन्डर आह्वान गरिएको उहाँले बताउनुभयो ।