• १३ साउन २०८१, आइतबार

काठेपुलबाट उठेको पैसाले तटबन्ध

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख ३० गते ।  कैलालीको कैलारी गाउँपालिका–३, खोनपुरका स्थानीयले काठेपुलबाट उठेको रकमले मोहना नदीमा तटबन्ध निर्माण सुरु गरेका छन् । नदीमा काठेपुल र डुङ्गा सञ्चालन गर्दै आएकाले त्यसबापत उठेको रकमले नदीको कटान नियन्त्रणका लागि भौतिक तटबन्ध निर्माण सुरु गरेका हुन । करिब १० लाख रुपियाँ लागतको तटबन्ध निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको स्थानीय सुजित चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीले बढी कटान गर्दै आएको क्षेत्रमा करिब ७० मिटर तटबन्ध गर्ने योजना रहेको छ । 

पालिकाबाट आर्थिक सहयोग नभएमा ५० मिटरसम्म मात्रै तटबन्ध बन्ने चौधरीले बताउनुभयो । आफूसँग रहेको बजेटले ५० मिटर तटबन्ध बन्ने उहाँको भनाइ छ । “गाउँपालिकाले चार लाख रुपियाँ बजेट दिने प्रतिबद्धता जनाएको छ,” चौधरीले भन्नुभयो, “त्यो बजेट प्राप्त भएमा २० मिटर तटबन्ध थप गरेर ७० मिटरसम्म बनाउँछौँ ।” 

मोहना नदीले बर्खामा किसानको खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । हालसम्म २५ बिघा जमिन कटान गरिसकेको जनाइएको छ । कटान नियन्त्रणमा सरकारले चासो नदिएपछि नदीमा काठेपुल बनाएर पुल तरेबापतको रकमबाट तटबन्ध बनिरहेको स्थानीयले बताएका हुन । 

सीमावर्ती भारतीय बजार चन्दन चौकीसँग जोडिने खोनपुर घाटमा पनि स्थानीयले काठेपुल निर्माण गरेका छन् । गाउँपालिकाको कार्यालयले सो घाटमा काठेपुल र डुङ्गा सञ्चालनका लागि दुई लाख ६५ हजार रुपियाँमा एक वर्षको लागि ठेक्का दिएको थियो । 

खोनपुर गाउँका स्थानीयले भने ठेक्काबापतको रकम तिर्ने र आफ्नो घाटमा आफैँ काठेपुल तथा डुङ्गा सञ्चालन गर्ने भन्दै हस्तक्षेप गरेका थिए । एक वर्षको ठेक्का अवधि सकिन अझै दुई महिना बाँकी रहँदा घाटबाट १० लाख रुपियाँ सङ्कलन गर्न सफल भएको चौधरीले जानकारी दिनुभयो । 

सो घाटमा बर्खायामभरि डुङ्गा र अन्य समय काठेपुलमार्फत ओहोरदोहोर हुने गरेको छ । कैलालीको विभिन्न पालिकावासी किनमेलका लागि भारतीय बजार चन्दन चौकीसम्म जाने गरेकाले यस क्षेत्रमा सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ ।