• ८ मंसिर २०८१, शनिबार

चुलोको धुवाँ सिधै फोक्सोमा

blog

परम्परागत चुलोमा खाना पकाउँदै सिगास गाउँपालिका–१ की देवा ऐरी ।

गोकर्ण दयाल 

बैतडी, वैशाख ३० गते । सुदूरपश्चिममा बोलिने चर्चित उक्तिका केही शब्द छन्, ‘गोठ पाँण, थिति–मति होइजाऔँ !’ गोठमा पशु राम्रो होस् र घरभित्र बस्ने परिवार सुखी होस् ।  यस्तै अर्को पनि उक्ति छ, ‘गोठको किलो र पाँणको सिलो हल्लिनु हुँदैन’ घरपरिवार निरोगी होऊन्, दैव नलागोस् । यद्यपि यहाँका ९५ प्रतिशत घरका भान्सामा सुधारिएको चुलो नहुँदा धुवाँ सिधै फोक्सोमा जाने गरेको अध्ययनले देखाएको छ । 

बैतडीका १० स्थानीय तहका ८४ वडामा रहेका ४९ हजार धुरीमध्ये ९५ प्रतिशत घरधुरीका गृहिणी परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरी खाना पकाउँदै आएका छन् । नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको भए पनि बैतडीमा अझै ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउराको चुलोमा निर्भर छन् । घरको भुइँ तलामा पशुपालनका लागि बनाइएका गोठ पनि सुधार हुन सकेका छैनन् । सुधारिएको गोठ बनाउने कार्यक्रम नआउँदा यहाँका पशुमा विभिन्न रोगको सङ्क्रमणले स्थानीय जातका भैँसी लोप हुने अवस्थामा पुगेका छन् ।  

जिल्ला प्रशासन कार्यालय बैतडीले तयार गरेको विपत् पूर्वतयारीसम्बन्धी तथ्याङ्क पुस्तिका २०८०/८१ अनुसार बैतडीका ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउरामा निर्भर रहेको पाइएको हो । एलपी ग्यास चुलो प्रयोग गर्ने ४.६ प्रतिशत छन् । बैतडी जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि २४५ घरपरिवारसँग शौचालयसमेत नभएको तथ्याङ्क छ । 

जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आउने विभिन्न १० वटा रोगमध्ये दम एउटा प्रमुख रोगका रूपमा रहेको अस्पतालका ल्याब टेक्निसियन चन्द्र डोबालले जानकारी दिनुभयो । उहाँले बिरामीको खकार परीक्षण गर्दा बैतडीमा आर्थिक वर्ष २०७९/८० मा १७३ जनामा क्षयरोग भेटिएको बताउनुभयो । 

जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले जिल्ला अस्पताल बैतडीमा एक वर्षको अवधिमा उपचारका लागि आएका ३४ हजार ३२३ जना बिरामीमध्ये अधिकांशमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको जानकारी दिनुभयो । उहाँले दम रोगका कारण दाउराको चुलो मात्रै नभएर धूमपान, मद्यपान जस्ता कारण पनि हुने गरेको बताउनुभयो । उहाँले परम्परागत धुवाँको चुलोमा खाना पकाउँदा दम र क्षयरोगको सङ्क्रमण हुने बताउनुभयो । 

चुलो र गोठ सुधार्ने कार्यक्रम छैन   

स्थानीय तहले धुवाँरहित सुधारिएको चुलो, सुधारिएको गोठ बनाउने कार्यक्रम ल्याउन नसक्दा जिल्लाका अधिकांश घरधुरी परम्परागत धुवाँको चुलोमा खाना पकाउने गरेको जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम भाटले जानकारी दिनुभयो ।  

उहाँले खाना पकाउने परम्परागत चुलोलाई सुधार्न सके मात्रै पनि ठुलो उपलब्धि हुने बताउनुभयो । बैतडीका ४९ हजार घरधुरीमध्ये केही वर्षअघि निम्तो नामक गैरसरकारी संस्थाले बैतडीका १५ हजार घरधुरीमा सुधारिएको चुलो कार्यक्रम सञ्चालन गरे पनि त्यसले निरन्तरता पाउन सकेको छैन । चुलो र गोठ सुधार्ने काममा स्थानीय सरकारको ध्यान जानुपर्ने जिल्ला समन्वय समिति सदस्य भाटले बताउनुभयो । 

विद्युतीय चुलो सपना मात्र

बैतडीका ४९ हजार घरधुरीमध्ये हाल करिब २३ हजारमा मात्रै विद्युत्को पहुँच पुगेकाले बैतडीका २६ हजार घरधुरी अझै अँध्यारोमा छन् । बिजुली पुगेका घरपरिवारमा समेत विद्युतीय चुलोमा पहुँच पुग्न नसकेका बेला अँध्यारोमा बसेका घर परिवारका लागि विद्युतीय चुलो सपना मात्रै रहेको छ ।