• १३ साउन २०८१, आइतबार

जुस बेचेर महल ठड्याउने सपना

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २९ गते  । टन्टलापुर घाममा छहारीका लागि टाँगेको प्लास्टिकको त्रिपालमुनि प्रेमलाल रानालाई उखु ताछ्न भ्याइनभ्याइ छ । यो बेला उखुको जुसको सिजन भएकाले पनि हुन सक्छ, प्रेमलाल निधारको पसिनासमेत नपुछेर उखु ताछ्न व्यस्त छन् । 

धनगढी उपमहानगरपालिका–११, जुगेडाका ३० वर्षीय रानालाई गर्मी सिजन सुरु भएयता फुर्सद छैन । राम्रो जुस बनाउन उखुको बोव्रmा ताछ््नै पर्छ । त्यसरी ताछेको उखु मात्रै मेसिनमा पेलेर ग्राहकलाई जुस पिलाउनु उहाँको विश्वसनीयता हो । उखु ताछ्ने, मेसिनमा पेल्ने र आएका ग्राहकलाई आइस जस्तो चिसो उखु जुसले तृप्त पार्ने इच्छासँगै धनगढी बजारमै घर बनाउने सपना रहेको छ । गत चैतबाट यसरी नै बितिरहेको छ, प्रेमलालको दैनिकी । 

“यो वर्ष चैतदेखि उखुको जुस व्यापार थाले पनि फुटपाथमा उखुको जुस व्यापार गरेको भने पाँच/छ वर्ष भइसकेको उहाँ बताउनुहुन्छ,” उहाँ भन्नुहुन्छ, “आगामी असारसम्म उखुको जुस निरन्तर बिव्रmी हुन्छ ।” प्रेमलालले जुगेडास्थित आफ्नै एक बिघा खेतबारीमा उखु रोप्नुभएको छ । उखु चिनी मिललाई बिव्रmी नगरी जुस बनाएरै सिध्याउने गरेका रानाले दैनिक ६० केजी उखुको जुस बिव्रmी गर्ने गरेको जानकारी दिनुभयो । 

आइस मिसाए प्रतिगिलास ३० र नमिसाउँदा ३५ रुपियाँमा जुस बिव्रmी गरेर दैनिक तीनदेखि चार हजार रुपियाँसम्मको कारोबार हुने गरेको प्रेमलालले सुनाउनुभयो । गरिब परिवारका प्रेमलालसँग पुख्र्यौली जग्गा भए पनि बास बस्न राम्रो घर छैन । आसपासमा छिमेकीले पक्की घर बनाइसके पनि उहाँको परिवार भने माटोको कच्ची घरमा बस्दै आएको छ । 

आर्थिक अभावका कारण राम्रो घर बनाउन नसकेका प्रेमलाल जुस व्यापार गरेर पक्की घर बनाउने अठोट लिएको बताउनुहुन्छ । “एउटा पक्की घर बनाउने मेरो सबभन्दा ठुलो सपना हो,” रानाले थप्नुभयो, “जुस बेचेर बनाउँछु भन्ने आशा छ । यस वर्ष व्यापार गरेर घरका लागि इँटा खरिद गर्छु ।”

चैतदेखि असारसम्म चार महिनासम्म उखुको जुस व्यापार गरेर तीन लाख रुपियाँसम्म आम्दानी गर्ने योजनामा उहाँ हुनुहुन्छ । बिहे गर्दा लागेको ऋण तिर्न समय लागेकाले पक्की घर बनाउन नसकेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “गाउँको समूहबाट तीन लाख रुपियाँ ऋण लिएको थिएँ । चर्को ब्याजका कारण त्यही ऋण तिर्न कैयौँ वर्ष लाग्यो । अब ऋण सकियो ।”

सामान्य हरहिसाबबाहेक लेखपढ गर्न नजानेका प्रेमलालले गरिबीकै कारण पढ्न सक्नुभएन । आफूले पढ्न नपाए पनि दुवै छोरालाई धेरै पढाउने उहाँको रहर छ । “जेठो छोरा अहिले स्कुल पढ्दै छ भने कान्छो घरमै बस्छ, ठुलो भएपछि स्कुल जान्छ,” उहाँले भन्नुभयो ।