• ७ जेठ २०८१, सोमबार

धनगढीमा अतिक्रमित ताल खाली हुँदै

blog

अतिक्रमण भई खेतमा परिणत भइसकेको अन्टा ताल ।

अविनाश चौधरी

धनगढी, वैशाख २८ गते। धनगढीमा अतिक्रमित ताल खाली गर्न थालिएको छ। भूमिगत पानीको स्रोत सुक्न थालेपछि धनगढी उपमहानगरपालिकाले अतिक्रमित प्राकृतिक ताल खोजेर खाली गर्न थालेको हो।  

भूमिगत पानी पुनर्भरण (वाटर रिचार्ज) का लागि प्राकृतिक ताललाई पहिलेकै अवस्थामा ल्याउन लागेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। सो पालिकाभित्र रहेकामध्ये अतिक्रमणमा परेको ८३ वटा प्राकृतिक तालको खोजी गरिएको छ। घरजग्गामा परिणत भइसकेका त्यस्ता ताल क्षेत्रको अतिक्रमण हटाएर ताल बनाउने काम भइरहेको छ। 

किनबेच भ घरसमेत बनिसकेका धनगढी उपमहानगरपालिका–७ स्थित सडुवाबाबा ताल, अण्डैया ताल र १२ कट्ठा क्षेत्रफल रहेको अन्टा तालको अतिक्रमण हटाएर पहिलेको जस्तै ताल बनाउने काम भइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो। यसरी नै क्रमशः ८३ वटै तालको अतिक्रमण हटाएर पानी पुनर्भरणका लागि तयार पार्ने उहाँको भनाइ छ। 

“पहिलो चरणमा पानी पुनर्भरण हुने जति ताल थियो त्यसको खोजी गर्‍यौं”, नगर प्रमुख हमालले भन्नुभयो,“त्यसरी खोजी गने क्रममा सबै नक्सा भिडाएर हेर्दा ८३ वटा ताल भेटिएको छ।” 

त्रिभुवन विश्वविद्यालयका पानी पुनर्भरण सम्बन्धी प्रोफेसर मोती रिजालले अध्ययन अनुसन्धान गरेर प्रतिवेदन तयार पारेपछि अतिक्रमित ताललाई पानी रिचार्जका लागि पुरानो अवस्थामा फर्काउने कार्य भइरहेको जनाइएको छ। पुनर्भरण हुने तालहरु अतिक्रमण भ जग्गामा परिणत भएकाले धनगढी उपमहानगरपालिकाभित्र वैशाखदेखि असारसम्म धारा सुक्ने समस्या देखिन थालेको बताइएको छ। 

“अहिले नै त यस्तो अवस्था छ”, हमालले भन्नुभयो,“२० वर्षपछि झन् यहाँको भूमिगत जलस्रोतको हालत के होला ? त्यही भएर भविष्यको लागि पनि ताललाई जोगाउन आवश्यक छ। यो सार्वजनिक क्षेत्र पनि हो।” नगर क्षेत्रमा जग्गा खरिद गर्दा सबै कुरा बुझेरमात्रै जग्गा खरिद गरी घर बनाउन पनि उहाँको अनुरोध छ। 

अतिक्रमणमा परेका तालहरुलाई पुरानै अवस्थामा फर्काएर त्यसमा आम्दानीका गतिविधि गर्न सकिने सवालमा पनि अध्ययन गरेर प्रतिवेदन तयार पारेको जनाइएको छ। सडुवाबाबा ताल क्षेत्रको जग्गामा केही कच्ची घर बनिसकेको थियो। त्यसैगरी, पक्की घर बनाउनका लागि जगसमेत हाल्ने कार्य भएको थियो। त्यो सबै हटाएर उपमहानगरपालिकाले साढे नौ कट्ठा क्षेत्रफलको ताल तयार पारिरहेको छ।