• ९ मंसिर २०८१, आइतबार

घरमै पर्न थाल्यो चट्याङ !

blog

बैतडी समाचारदाता

बैतडी, वैशाख २८ गते । ‘चट्याङबाट जोगिन घरभित्र बस्न र झ्यालढोका बन्द गर्ने’ सन्देश प्रसार गरिए पनि घरमै चट्याङ पर्न थालेपछि स्थानीय चिन्तित भएका छन् । चट्याङबाट बच्न ‘अर्थिङ एन्टेना’ र ‘लाइटिङ एरेस्टर डिभाइस’ जडान गर्न सकिने भए पनि यो प्रविधिमा सर्वसाधारणको पहुँच पुग्न सकेको छैन ।

यही वैशाख १४ गते पाटन नगरपालिका–१ का जयदेव भट्टराईको घरमा चट्याङ पर्दा एक भैँसी मरेको छ भने विद्युतीय मिटरमा क्षति पुगेको छ । सोही घरमा गत वर्ष पनि चट्याङ परेर एक गोरु मरेको थियो । सोही गाउँमा पुनः वैशाख २५ गते अर्का किसान टेकराज भट्टराई (टीका) को घरमा पनि चट्याङ पर्दा ८० हजार रुपियाँ मूल्यको भैँसी मरेको छ । 

गत वर्ष पनि घरमै चट्याङ लागेर डिलासैनी गाउँपालिका–७ का केशवराज जोशी घाइते हुनुभएको थियो । पाटन नगरपालिका–१० का शङ्कर विष्टको घरमा चट्याङ पर्दा पशुचौपाया मरेका थिए । घरमा चट्याङ परेका यी केही प्रतिनिधिमूलक घटना हुन् । गत वर्षदेखि यो वैशाखसम्म विभिन्न ठाउँका १० वटा घरमाथि चट्याङ पर्दा मानिस घाइते हुनुका साथै पशु चौपाया मरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । केही वर्षअघि चट्याङ लागेर नेपाली सेनाका २२ जना घाइते भएका थिए ।

चट्याङले तत्कालीन शत्रुमर्दन गुल्मका २२ जना जवान कठपतेमा तालिम गरिरहेका बेला क्याम्पमा चट्याङ परेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा चट्याङ परेको विवरण छ । 

घरमाथि परेको चट्याङले मानिस घाइते हुनुका साथै पशु चौपाया, बिजुलीका मिटर बक्स र घरमा क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो । एक पटक बिजुली चम्किँदा १२ करोड ५० लाख रुपियाँ भोल्टको करेन्ट उत्पन्न हुन्छ भने ३० हजार डिग्री सेन्टिग्रेटसम्म तापक्रम फाल्छ । 

चट्याङको यो तापक्रम सूर्यको भन्दा बढी हुने गरेको बताइन्छ । चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुनिँदैन तर अपवादका रूपमा ६० किलोमिटरसम्म चट्याङको आवाज सुनिएको रेकर्ड गरिएको तथ्याङ्क छ । सबै खाले चट्याङ खतरनाक हुने भएकाले क्षतिबाट बच्न अग्लो ठाउँमा घर नबनाउने, बनाउनै परे पनि वरिपरि अग्लो रुख नराख्न विद्युत् वितरण केन्द्रका प्रमुख इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो । 

“आकाशमा भएका फरक फरक बादल एकआपसमा ठोक्ँकिदा चट्याङको बिजुलीमा धनात्मक र ऋणात्मक बिजुली उत्पन्न हुन्छ,” इन्जिनियर पौडेलले भन्नुभयो, “उक्त बिजुली जमिनमा सोझै खस्दैन । केही न केही अग्लो रुख, घर खोजेर जमिनमा खस्दा मानवीय र भौतिक क्षति हुने गरेको हो । चट्याङबाट जोगिन ‘अर्थिङ एन्टेना’ र ‘लाइटिङ एरेस्टर डिभाइस’ जडान गर्न सकिने भनाइ उहाँको छ ।   

विपत् जोखिमको छैन पूर्वतयारी

जिल्ला प्रशासन कार्यालयले तयार गरेको विपत् प्रतिकार्य योजना २०८०/८१ अनुसार भूकम्प र सङ्क्रामक रोगबाहेक अन्य विपत्का घटनाबाट प्रतिवर्ष सात सयदेखि नौ सय परिवारका पाँच हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरेको छ । 

प्रतिवेदनमा बाढीपहिरो, सडक दुर्घटना, चट्याङ जस्ता विपत्बाट मात्रै सात सयभन्दा बढी जनसङ्ख्या विस्थापित हुने र विपत्बाट सरदर हरेक वर्ष ८० जना र रोगको महामारीबाट आठ जनाको मृत्यु हुने पूर्वानुमान गरिएको छ । 

बाढीपहिरो, सडक दुर्घटना, चट्याङ र आगलागी मुख्य विपत्का रूपमा देखिएका छन् । स्थानीय सरकारले चट्याङ सम्भावित ग्रामीण क्षेत्रका घर, विद्यालय र स्वास्थ्य चौकीका भवन चट्याङबाट सुरक्षित पार्ने संरचना तयार गर्न नसक्दा बर्सेनि क्षति हुँदै आएको छ । सडक सुरक्षा, आगलागी र बाढीपहिरो रोकथाममा पनि स्थानीय तहका सरकार उदासीन देखिएका छन् ।