• ७ जेठ २०८१, सोमबार

धनकुटामा पाँच दिने औधोगिक मेला हुने

blog

कार्यक्रमबारे पत्रकार सम्मेलन गरी जानकारी दिइँदै ।

कबिराज घिमिरे

हिले, वैशाख २७ गते । जेठको दोस्रो साता धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल –२०८१ हुने भएको छ ।

जेठ ९ गतेदेखि १३ गतेसम्म धनकुटाको औधोगिक ग्राममा मेला तथा फेष्टिबल आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमार्फत् आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा मेला हुन लागेको हो ।

मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र विक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतीहरु रहने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताउनुभयो ।

मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकार ३० वटा स्टल रहने, आन्तरिक पर्यटकले अवलोकन गरेर २ करोड रुपियाँको कारोबार हुने आयोजकको अपेक्षा गरेको छ । 

धनकुटामा निर्माण भएको औधोगिक ग्राम सञ्चालनमा आउन नसकेपछि मेलाको आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताउनुभयो । मेलाका लागि घरेलु कार्यालयको १० लाख रुपियाँ सहयोग रहेको र बाँकी अन्य स्रोतबाट सञ्चालन हुने आयोजकको भनाइ छ ।