• ७ जेठ २०८१, सोमबार

हिंसा नियन्त्रण गर्न प्रहरीको सहकार्य

blog

टीकापुर बजार क्षेत्र ।

टीकापुर समाचारदाता

टीकापुर, वैशाख २७ गते । लैङ्गिक हिंसा नियन्त्रण गर्न स्थानीय तह तथा सरोकारवाला पक्षलाई समेटेर नेपाल प्रहरीले सहकार्य गर्न थालेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लैङ्गिक हिंसा नियन्त्रणमा यस किसिमको सहकार्य प्रभावकारी हुने अपेक्षा राख्नुभयो । 

विभिन्न अपराधका अधिक घटना हुने टीकापुर क्षेत्रमा लैङ्गिक हिंसा र लागुऔषधमा संलग्न व्यक्तिकाविरुद्ध सूचना पाउन कठिनाइ भएको उहाँले बताउनुभयो । सरोकारवाला संस्था तथा निकाय र प्रतिनिधिसँगको सहकार्यले हिंसा प्रभावितलाई सेवा दिन सजिलो हुने र कानुनविपरीतका क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिन सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो । 

आर्थिक वर्ष २०७८/७९ मा १०२ वटा, २०७०/८० मा ७५ वटा र चालु आवमा ७२ वटा घरेलु हिंसाका उजुरी परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । उहाँका अनुसार घरेलु हिंसाको मुख्य कारण मादक पदार्थ सेवन रहेको छ । 

इलाका प्रहरीमा आएका फौजदारी अपराधका घटना मध्ये २५ प्रतिशत लैङ्गिक हिंसाका छन् । टीकापुर अस्पतालमा यस वर्ष सेवा लिन आएका ९० जनामा ८२ जना महिला रहेको र सबैजसो घरेलु र लैङ्गिक हिंसामा परेर एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) आएको सो केन्द्रका सम्पर्क व्यक्ति कलावती तिमिल्सिनाले बताउनुभयो । 

लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत हिंसामा परेका महिलालाई सेवा दिँदै आएको छ । सरकारले पन्ध्रौँ योजनामा लैङ्गिक हिंसा निवारण गर्ने लक्ष्य लिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत महिला समुत्थान परियोजना लागु भई स्थानीयस्तरमा प्रहरीले सहकार्य बढाएर हिंसा नियन्त्रणको प्रयास गरिएको सो परियोजनाकी लैङ्गिक समता तथा समावेशीकरण (जेसी) तालिम विशेषज्ञ मञ्जुसिंह राणाले बताउनुभयो । 

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ अनुसार टीकापुरमा सरोकारवालासहितको १७ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । 

कानुनी व्यवस्था अनुसार कारबाही गर्ने हो भने गाउँमा हरेक घरमा बस्नै नसकिने अवस्था रहेको र सञ्जालले बनाएको वार्षिक कार्ययोजनाले लैङ्गिक हिंसा नियन्त्रण गर्न सजिलो हुने टीकापुर नगरपालिका–३, शङ्करपुरका महिला वडा सदस्य कमला विश्वकर्माको अपेक्षा छ ।