• ७ जेठ २०८१, सोमबार

काभ्रेमा ‘आगो’को वितण्डा, बस्तीमा जोखिम

blog

काभ्रेपलाञ्चोक, वैशाख २६ गते । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिँगटा लागेर भुइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्णरुपमा भष्म भइसकेको थियो । पचास वर्षीय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो । लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाइबाट चियाइरहनुहुन्थ्यो । 

अब कसरी परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उहाँ भन्नुहुन्छ, ‘‘बर्खा लागिसक्यो । भएको अन्तपात र लत्ताकपडा जलेर खरानी भयो । यो पीडा कसलाई पोखुँ ?’’ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानो पोटा गाउँमा वैशाख १८ गते मङ्गलबार गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा आएपछि उहाँको सँगै गाउँका १५ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । घरमा वनको आगो सल्किएपछि आगोले ‘वितण्डा’ मच्चाउँदा गाउँका पीडितले घरका सरसामान निकाल्न सकेनन् र घण्टामै केही पशुचौपायासहित सम्पूर्ण सामग्री जलेर खरानी भयो । 

अग्नि प्रभावित १५ घरका वृद्धवृद्धा, महिला तथा बालबालिका गरी करिब ६० व्यक्ति खुल्ला आकाशमुनि त्रासमै रात बिताउन बाध्य हुनुप र्‍य ाे । अहिले उनीहरुलाई सामूहिक टेण्टमा बस्ने व्यवस्था मिलाइएको छ । आगलागीबाट गाउँमा खानेपानीको पाइप पनि जलेपछि आनेपानी आपूर्ति हुन सकेको छैन । जिल्ला विपद व्यवस्थापन समिति, रेडक्रसलगायत विभिन्न सङ्घसंसथा र राजनीतिक दलका नेता एवम् भ्रातृ सङ्गठन राहत र पाल बोकेर सानो पोटा गाउँ जान थाले । खानेपानीका लागि नजिक मूलबाट ल्याइएको पानीले गाउँलेलाई दैनिक पर्याप्त छैन । 

आगलागी पीडित परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत वितरण गरिएको छ । बितरित राहतअन्तर्गत गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाँडाकुँडा, त्रिपाल, कम्बललगायतका सामग्री छन् । विभिन्न राजनीतिक पार्टीका नेता, सांसदहरुले पनि खाद्यान्न सहयोग गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई पाँच हजार दिइएको र बाँकी दश हजार केही दिनमै उपलब्ध गराइने बताउनुभयो । 

साथै, क्षतिग्रस्त घर पुनः निर्माण गर्न स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताउनुभयो । एक हप्तामा आगलागीमा परेर सानु पोटागाउँमा १५ घर, डाँडागाउँमा एक घर र माटेमा दुई घर नष्ट भएको थियो । आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको थियो । आगलागी नेपाली सेना, प्रहरी टोली तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । 

गर्मीयाम लागेसँगै खडेरीका कारण जिल्लाका धेरै ठाउँमा आगलागीका घटना भइरहेका छन् । गत शुक्रबार राति धुलिखेल नगरपालिका-३ को एउटा सिङो बस्तरुी आगलागीको ठूलो जोखिमबाट जोगिएको छ । साँझबाट बस्ती नजिकसँगैको नयाँगाउँ सामुदायिक वनमा लागेको आगो सुरक्षाकर्मी र स्थानीयको रातभरको पहल तथा भक्तपुरबाट दमकल ल्याई १० घण्टाको प्रयासपछि शनिबार बिहान नियन्त्रणमा ल्याइएको वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो । 

यस्तै बनेपा नगरपालिका-११ स्थित देवीस्थान सिनागाल जङ्गलमा लागेको आगो एक हप्तापछि नियन्त्रयामा ल्याइएको छ । आगलागी हुँदा दैनिकजसो हावाहुरी पनि चलिरहेकाले वन नजिक बस्ती भएका कारण निकै जोखिममा थिए । सुरक्षाकर्मी र स्थानीय तथा युवा सङ्घको विशेष पहलमा सो आगो नियन्त्रणमा ल्याइएको वडाध्यक्ष शिवकुमार थापाले बताउनुभयो । “एक हप्ता निकै त्रासपूर्ण बिताइयो, अन्यत्र झैँ बस्तीमा आगो पस्ला कि भन्ने ठूलो डर थियो”, उहाँले भन्नुभयो । 

यसैगरी बिहीबार दिउँसो पाँचखाल नपा-५ स्थित जङ्गलमा आगो लाग्दा करिब दुई घण्टा अरनिको राजमार्गसमेत अवरुद्ध हुन पुग्यो । उक्त वडाको केराघारीस्थित ठूलो वन क्षेत्रमा आगलाग्दा हावाहुरिले विद्यालय र बस्ती निकै जोखिममा भएका कारण सुरक्षाकर्मी र स्थानीयले नजिकको बस्तीका केही घरबाट सामग्री तथा गाईवस्तुलाई निकालिएको थियो । करिब चार घण्टामा आगो नियन्त्रणमा लिँदा जनधनको क्षतिबाट जोगिएको थियो । यही हप्ता नमोबुद्ध नपा-१ स्थित फूलबारीको वनमा आगलागी हुँदा समयमै नियन्त्रणमा लिँदा बस्तीमा क्षति हुनबाट जोगाइएको स्थानीय श्रीकृष्ण धितालले बताउनुभयो । 

उहाँका अनुसार बुधबार साँझ लागेको आगो करिब तीन घण्टामा नियन्त्रणमा लिइएको हो । काभ्रेपलाञ्चोकका अधिकांश बस्ती जङ्गल क्षेत्र नजिक अवस्थित छन् । गत चैत पहिलो साता काभ्रेपलाञ्चोकको अठार स्थानमा आगलागी हुँदा जनधानको क्षति हुन पुग्यो । करिब एक हप्तामा दैनिकजसो आगलागीका कारण छ घर र सात गोठ जलेका थिए भने सात जना घाइते भएका थिए । ती आगलागीमा १२ लाख ५० हजार क्षति भएको प्रहरीले जनायो । उक्त समय विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झण्डै ४४ घण्टासम्म खटाइएको थियो । 

चैतको १ गते एकैदिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भएका थिए । महाभारत गाउँपालिका-२ मूलडाँडाका सञ्चार घिसिङको कच्ची एकतल्ले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र नगत एक लाख पाँच हजारसमेत गरी तीन लाख क्षति भयो भने घरका सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाइते हुनुभएको थियो । पनौती नगरपालिका-३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जङ्गलमा आगो लाग्यो । स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

यस्तै भुम्लु-१ कात्तिके वनटोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो । सोही स्थानमा रहेको गोठमासमेत आगो लागेर नष्ट भयो । खानिखोला-७ मोरङबेंसीस्थित पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ-जस्ता बनेको टहरो जल्यो । सोही दिन बेथानचोक-४ मा बेथानखोला सामुदायिक वनमा आगलागी भयो । बनेपा-१४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल-३ स्थित सर्वमङ्गला माध्यमिक विद्यालयको हाताभित्रको पाँच रोपनी जङ्गलमा आगलागी हुँदा स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

प्रहरीका अनुसार त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएका थिए । घटना विवरणअनुसार गत फागुन २६ गते पनौती नगरपालिका-५ स्थिल छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी भयो । भोलिपल्ट बनेपा नपा-१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यु पराल पनि जल्यो । यस्तै पर्सिपल्ट अर्थात फागुन २८ गते तेमाल गाउँपालिका-७ स्थित सात रोपनी लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो । 

प्रहरीका अनुसार फागुन २९ गते चौंरीदेउराली गाउँपालिका-५ को छ रोपनी देउपोखरे सामुदायिक वनमा आगलागी भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट हुँदा करिब ५० हजार क्षति भएको थियो । यसैगरी फागुन ३० गते बनेपा-१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट ७ रोपनी सामुयदायिक वन जल्यो । चैत पहिलोसाता नमोबुद्ध नपा-८ कुश्मती जङ्गलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भयो । 

सोही दिन भुम्लु गाउँपालिका-८ को जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनायो । सोही साता नमोबुद्ध–५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो । महाभारत-७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहोर जलाउने क्रममा हावाहुरी चल्दा नजिकको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षती भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमा समेत आगो लाग्यो । 

डढेलोबाट विशेष गरी जङ्गलमा रहेका साना बोट-बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको अनुमान गरिएको छ । आगलागी भएका केही जंगलमा स्थानीयबासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएका पनि थिए । विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ । करिब चार महिनाको अवधिमा काभ्रेपलाञ्चोकको ४८ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय ३० हेक्टर वन जलेर नष्ट भइसकेको छ ।

हाल रोशीको डाँडागाउँ र बनेपाको धनेश्वर जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छैन । उक्त क्षेत्रत्रफलमा आगलागी भएको र जिल्लाका निजी वन-पाखा, घर तथा टहरामा समेत पनि आगलागी भएको घटना भई क्षति पुगेको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार जिल्लास्थित सब-डिभिजन वन कार्यालय अन्तर्गतका केही सामुदायिक र राष्ट्रिय वनमा आगलागी भइरहेको छ । केही स्थानमा आगलागी नियन्त्रणमा आए पनि थप केही स्थानमा आगलागी भइरहेको कार्यालयको सूचना अधिकारी सरिता लामाले बताउनुभयो । 

उहाँका अनुसार वैशाख तेस्रो सातासम्म सब-डिभिजन वन कार्यालय चौवासअन्तर्गत १० स्थानमा आगलागी हुँदा चार सय २२ हेक्टर वनमा क्षति पुगेको छ । यस्तै सब-डिभिजन जनागालअन्तर्गत चार स्थानको ३२ हेक्टर, सब–डिभिजन महादेवस्थानअन्तर्गत पाँच स्थानमा १५ दशमलव ५ हेक्टर, सव-डिभिजन कटुन्जेअन्तर्गत दुई स्थानमा एक सय ८२ हेक्टरमा आगलागी भएको थियो । त्यस्तै सब-डिभिजन खोपासीअन्तर्गत आठ स्थानमा ४३ हेक्टर, सब-डिभिजन नमोबुद्धअन्तर्गत १३ स्थानमा एक सय २३ हेक्टरमा आगलागी भएको जनाइएको छ । 

आगलागीका क्रममा मानवीय क्षेत्र पनि भएको छ । तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा निधन भएको छ भने आगलागीका क्रममा नौ जना घाइते भएका छन् । वन-पाखा, घर-टहरा तथा जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, शसस्त्र प्रहरी तथा केही स्थानमो दमकलबाट सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यलय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार वनमा आगलागी गर्ने केही व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएर कारवाही पनि गरिएको बताउनुभयो । “जिल्लाका थप स्थानमा आगलागीका घटना भइरहेका छन्, आगो लगाउनेको पहिचान गर्ने क्रममा छौँ”, उहाँले भन्नुभयो ।

आगलागीका कारण काभ्रेपलाञ्चोकमा वन्यजन्तु, पंक्षी, बोटबिरुवा र लोपोन्मुख वनस्पतिसमेत नष्ट भएको जनाइएको छ । डिभिजन वन कार्यालयले केही वन्यजन्तुको उद्धार गरेको लामाले बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ भने तीन वटा भाले चितुवा, एक पोथी चितुवा तथा एक रतुवा मृग, एक दुम्सी मृत अवस्थामा फेला पारिएको थियो भने मृगको एक बच्चा जिउँदै अवस्थामा फेला पारिएको हो । 

वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने र वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने गलत धारणा, चोरी शिकारीले जङ्गली जन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक सूचना पाटी राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानी-नोक्सानी र कानुनी व्यवस्थाका बारेमा प्रचार-प्रसार गर्दै आएको जनाएको छ । रासस