• ६ जेठ २०८१, आइतबार

घरबास सञ्चालनले जीवनस्तरमा परिवर्तन

blog

अमलटारी सामुदायिक घरबास । तस्विरः मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख २६ गते । पछिल्लो समय होमस्टे अर्थात् (घरवास) सञ्चालनबाट राम्रो आम्दानी हुन थालेपछि नवलपुरका महिला आत्मनिर्भर हुन थालेका छन् । सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ । 

जिल्लाको कावासोती १५ मा अवस्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा ३१ घर सञ्चालनमा छन् । खेती, मजदुरी र माछा मारेर जीविका चलाउने यस क्षेत्रका विपन्न समुदायले अहिले सुविधा सम्पन्न होमस्टे सञ्चालन गरी पर्यटकलाई सेवा दिइरहेका छन् । 

जिल्लामा अमलटारी सामुदायिक होमस्टे, चिलाहा रतवल सामुदायिक होमस्टे, प्रिपर सामुदायिक होमस्टे, बरौली होमस्टे सञ्चालन गरी उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेका छन् । खेतीपाती, पशुपालनमा रमाउने महिला अहिले पाहुनाको स्वागतमा तल्लीन छन् ।

कावासोती नगरपालिका १५ बाघखोरमा रहेको अमलटारी सामुदायिक होमस्टे (घरबास) मा पुग्दा कम्प्युटरमा बचतको डाटा राख्न व्यस्त हुनुन्थ्यो धनमाया महतो । बिहान १० देखि साँझ ४ बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त हुने धनमाया, साँझ र बिहानको समयमा आफ्नै होमस्टेमा (घरबास) पाहुनालाई खाना खुवाउन र स्वागतमा समय दिने बताउनुहुन्छ । 

घरबास सञ्चालनमा सुरुका दिन स्मरण गर्दै २०७० सालदेखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँको जीवनले पनि फड्को मारेको छ । यसले गाउँघरमा महिलाको जीवनस्तरमा परिवर्तन ल्याएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाघखोर गाउँका सबै पुरुषहरू कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो ।” अहिले घरबास सञ्चालनपछि राम्रो आम्दानी भएको धनमायाले बताउनुभयो । घरवासमा आउने पाहुनालाई थारु संस्कृति प्रस्तुत गर्ने, थारु समुदायका परिकार खुवाउने र त्यसैबाट आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

अमलटारी मध्यवर्ती होमस्टे (घरवास) का सहव्यवस्थापक पिङकी महतोले (घरवास) सञ्चालन गरेपछि आर्थिक विकासमा परिवर्तन आएको बताउनु भयो । सुरुका दिन १५ देखि २० जना पाहुनाको व्यवस्थापन गर्न कठिनाइ भएको भए पनि अहिले ५० देखि ६० जना पाहुना आउँदा पनि सहज हुने बताउनुभयो । 

मासिक ३० देखि ४० हजार आम्दानी हुने भएपछि राम्रो भएको महतोले बताउनुभयो । वर्षामा भने अलि पर्यटक आउन कमी हुने उहाँले बताउनुभयो । यस गाउँमा भएको ३१ घर (घरवास) का सबै महिलाको व्यक्तित्वमा विकास भएको स्वयम महिलाको भनाइ छ ।  

विपन्न थारु, बोटे, माझी समूहले (घरवास) सञ्चालनपछि उनीहरूको मौलिक संस्कृति संरक्षणसँगै आर्थिक आय–आर्जनमा पनि सघाउ पुगेको प्रेमशंखर मर्दनिया थारुले बताउनुभयो । “मेला जानु र जङ्गल गएर दाउरा ल्याएर बेच्नु वा प्रयोग गर्नुको यहाँ अरू विकल्प थिएन” मर्दनिया थारुले भन्नुभयो ।  

घरबास सञ्चालन भएपछि यहाँका महिलाको क्षमता विकासमा मात्र होइन, आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुगाएको छ । यसले स्थानीय महिलाको सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । घरेलु उत्पादन खपत भएको छ भने स्थानीय संस्कृति पनि प्रवर्धन भएको छ । गाउँका महिला स्वावलम्बी भएका छन् र उनीहरूको आत्मविश्वास र आत्मसम्मान पनि वृद्धि भएको छ ।