• ७ जेठ २०८१, सोमबार

दोजाम कर्णालीमा बेलिब्रिज निर्माण गर्न माग

blog

जिल्लावासीले माग गरेको बेलिब्रीज निर्माण हुने स्थान खार्पुको दोजाम कर्णाली । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, वैशाख २६ गते । हुम्लाका जनप्रतिनिधिहरुले कर्णाली करिडोर अन्तर्गत पर्ने दोजाम कर्णाली नदीमाथि बेलिब्रिज निर्माणको माग गरेका छन् । यसै आर्थिक वर्षभित्र हालसम्म देशकै एक मात्र नजोडिएको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि बेलिब्रिज निर्माणको माग सरकारसँग गरिएको हो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले हुम्ला जिल्लालाई पूर्ण रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि दोजाम कर्णालीमाथि बेलिब्रिज निर्माण गर्न सरकारसँग माग गर्नुभयो । सो स्थानमा बेलिब्रिज निर्माण भए हिल्सासम्म राष्ट्रिय सडक सञ्जाल जोडिनेछ । उहाँले नेपाल सरकारले बजेट तथा कार्यक्रममा यसै आर्थिक वर्षभित्र सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यलाई पूरा गर्नका लागि पनि बेलिब्रीज निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यदि सरकारले सो नदीमाथि बेलिब्रिज निर्माण नगर्ने हो भने चालु आर्थिक वर्षमा पनि सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने अवस्था नरहेको बताउनुभयो । 

जिल्ला समन्वय समिति प्रमुख शिवराज शमार्ल खार्पुमा बेलिब्रिज निर्माणको जिल्लावासीको माग लिएर आफू यतिबेला काठमाडौंमा आइपुगेको जानकारी दिनुभयो । त्यसका लागि उहाँले भौतिक पूर्वाधार तथा यातयात मन्त्री रघुवीर महासेटसँग भेट गरेर उक्त समस्या सुनाइसकेको र मन्त्री महासेट पनि त्यसप्रति सकरात्मक रहेको बताउनुभयो । उहाँले यदी खार्पुको दोजम कर्णालीमा तत्कालका लागि बेलिब्रीज नबने यस आर्थिक वर्ष पनि सिमकोट सडक सञ्जालसँग नजोडिने जानकारी मन्त्रीलगायत सचिवलाई जानकारी गराएको बताउनुभयो । 

मन्त्रीलाई भेट्न समन्वय प्रमुख शर्मासहित सङ्घीय सासद छिरिडम्डुल लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, एमाले स्थायी कमिटीका सदस्य गोरख बोगटी लगाएतको टिम पुगेको थियो । केही समय अगाडी जिल्लामा जनप्रतिनिधि, नागरिक समाज, राजनीति दलहरुबिच बसेको बैठकले यसका लागि काठमाडौंसम्म डेलिगेसन जाने निर्णय गरेको थियो । नेपाली सेनाले छारे भीरलाई छिचोलेर अत्यावश्यक यातायातका साधन छा्ड्न थालेको कारण दोजाम कर्णाली रहेको खार्पुसम्म यातायातका साधन हाल आइरहेका छन् । अहिले नदीको पानी घटेको कारण ती यातायातका साधन जबरजस्ती नदीमा तारेर ल्याउने गरिएको छ । तर बर्खा लागे पनि नदीमा पानीको बहाब बढ्ने भएको कारण त्यतिबेला यातायातका साधन तार्न सम्भव छैन ।