• ६ जेठ २०८१, आइतबार

बाढीपहिरोपीडित चिन्तामा

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख २६ गते । आवास कार्यक्रमको दोस्रो किस्ता रकम नपाएपछि बाढीपहिरोपीडित चिन्तामा परेका छन् । घर निर्माण गरेको दुई वर्ष पुग्दा पनि आवास कार्यक्रम अन्तर्गतको दोस्रो किस्ता रकम नपाएको गुनासो पीडितको छ । बुढीगङ्गा नगरपालिका–१, अम्कोटकी बाढीपहिरोपीडित कल्चु नेपालीले दुई वर्ष हुँदा पनि आवास कार्यक्रमको दोस्रो किस्ता रकम नमिलेको बताउनुभयो ।

“पहिलो किस्ता ७५ हजार दिएर घर निर्माण गर्नु, त्यसपछि दोस्रो किस्ता रकम मिल्छ भनेपछि मैले सोही अनुसार घर बनाएँ तर अहिलेसम्म रकम पाएको छैन,” उहाँले भन्नुभयो । ऋण गरेर घर त बनाएँ तर रकम रोकिदिएपछि अब ऋण कसरी तिर्ने भन्ने चिन्ता लागेको नेपालीले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा स्थानीय प्रदेश तथा सङ्घीय सरकारले बाढीपहिरोपीडितका लागि घर निर्माण गर्न पाँच लाख रुपियाँ दिने निर्णय गरेको थियो । 

सोबापत पहिलो किस्तामा ७५ हजार भुक्तानी गर्ने गरी सम्झौता गराएको थियो । सम्झौता अनुसार पहिलो किस्ता लिएर घर बनाएकाले दोस्रो किस्ता पाएका छैन्न । हिमाली र त्रिवेणी नगरपालिकाका बाढीपहिरो प्रभावितले भने आवास कार्यक्रमको पूरै रकम पाएको बताएका छन् । प्राविधिकको रिपोर्ट अनुसार घर निर्माण गरेपछि सोही अनुसार स्थानीय सरकारले रकम भुक्तानी दिने गरेको छ । 

तर, बुढीगङ्गा नगरपालिका अम्कोटका बाढीपहिरो प्रभावितले भने आफूहरूले रकम नपाएको बताएका छन् । “गाउँमा एक प्राविधिक आएर यसरी घर निर्माण गर्नू भनेर जानुभयो तर घर निर्माण भइसकेपछि उहाँ आउनुभएन,” एक पीडितले भन्नुभयो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण नभएकाले पैसा रोकिएको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “अम्कोटका बाढीपहिरोपीडित १०६ जना परिवार हुन् । घरबासका लागि एक परिवारले पाँच लाख रुपियाँ पाउनुपर्ने हो । ८५ घरपरिवारले पहिलो किस्ता रकम पाइसकेका छन् ।’ 

पहिलो किस्ता रकम पाएकामध्ये १८ जनाले घर निर्माणको काम सुरु गरे पनि छ जनाले मात्र निर्माण कार्य सम्पन्न गरेका छन् । निर्माण गरेका घर पनि प्राधिकरणले दिएको डिजाइनभन्दा फरक छन् । 

स्थानीयले मनोमानीमा घर बनाउन थालेपछि दोस्रो किस्ता रकम रोकिएको नाथले बताउनुभयो । स्टिमेट अनुसारको घर निर्माण नभएपछि दोस्रो किस्ता रकम रोकिएको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले स्टिमेट अनुसार घर निर्माण नगरेकोले दोस्रो किस्ताको रकम रोकिएको स्पष्ट पार्नुभयो । उहाँले, भन्नुभयो, “डिजाइन स्टिमेट अनुसार घर निर्माण गरेर प्राविधिकबाट पास गरेको कागजात ल्याउनेलाई दोस्रो किस्ता रकम दिन्छु । घर बनाउँछु भनेर पहिलो किस्ता रकम लिएर घर नबनाए त्यो पैसा पनि फिर्ता गर्नु पर्छ ।”