• ६ जेठ २०८१, आइतबार

आगलागीबाट च्याखुरा र तित्रो सखाप

blog

गोकर्ण दयाल

बैतडी, वैशाख २५ गते । यस जिल्लाको एक सय वटा सामुदायिक वनमा निरन्तर आगलागी हुँदा सङ्कटापन्न पन्छी च्याखुरा र तित्रो सङ्कटमा परेका छन् । भुइँमै गुँड लगाउने च्याखुरा र तित्रोको गुँडसहित बासस्थान जलेपछि च्याखुरा र तित्रा सङ्कटमा परेका हुन् । 

आगलागीका घटनापछि वनमा साँझबिहान च्याखुरी च्याखुरी गर्दै च्याखुरा बासेको आवाज र तीन तारा तित्रिस गरी तित्रा बासेको आवाज पनि सुनिन बन्द भएको छ । गर्मीयाममा भुइँमै फुल पारेर ओथारो बस्ने बेलामा आगलागी हुँदा च्याखुरा र तित्रोको बासस्थान, अन्डा र चल्ला पोलिएका छन् । 

पाटन नगरपालिका–९ का कृष्णसिंह भाटले च्याखुरा र तित्राले भुइँमै फुल पारेर ओथारो बस्ने बेलामा वनमा आगलागी भएको बताउनुभयो । आगलागीले च्याखुराका बासस्थान, गुँड र आहाराका रूपमा रहेका किराफट्याङ्ग्रा पनि पोलिएका छन् ।

यो प्रजातिको चरा एक सय/दुई सय मिटरभन्दा टाढा उड्न सक्दैन । भुइँमा हिँडेरै चल्ला हुर्काउने गर्छ । आगलागीका कारण तित्रोभन्दा च्याखुरा थप सङ्कटतिर धकेलिएको पाटन नगरपालिका–१० का वडाध्यक्ष धनवीरसिंह कुँवरले बताउनुभयो ।

च्याखुरालाई नेपाल सरकारले सङ्कटापन्न पन्छीको सूचीमा राखेको छ । नेपालमा सबैभन्दा पहिला सन् १७९३ मा क्रिक प्याट्रिकले यो पन्छीको अभिलेख राख्नुभएको पाइन्छ । च्याखुरा जङ्गलमा पाइने प्रजातिको चरा भए पनि यसलाई घरमा ल्याएर पाल्ने चलन छ । पहिले धेरै जसोले यो चराको भालेलाई पाल्ने गरे पनि पछिल्लो समयमा भने हराउँदै गएको छ । कुनै बेला काठमाडौँ उपत्यकावरिपरि पनि भेटिने च्याखुरा पछिल्लो समय नेपालभर घट्दै गएको जानकारहरू बताउँछन् । सुदूरपश्चिमको बैतडी च्याखुराका लागि प्रसिद्ध मानिन्छ । कुनै बेला बैतडीमा च्याखुरा लडाइँ प्रतियोगिता हुने गरेको बताइन्छ ।  

आगलागीले ससना बोटबिरुवा, जडीबुटीतर्फ पाखनवेद, चिराइतो, कौँकौँ जस्ता महत्वपूर्ण सम्पदा जलेर खरानी हुँदा पनि वनसम्पदाको क्षतिको विवरण तयार हुन सकेको छैन । चुत्रो, ऐँसेलु, काफल जस्ता जङ्गली फलफूलमा पनि क्षति पुगेको छ । 

क्षतिको विवरण खोज्दै प्रहरी

जिल्ला प्रहरी कार्यालयको अगुवाइमा आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन हुन थालेको छ । प्रहरीको प्रारम्भिक तथ्याङ्क अनुसार तीन हजार मिटर खानेपानीको पाइप जलेको छ । 

वनको आगो बस्तीसम्म पुग्दा सात लाख ७० हजार रुपियाँको धनमाल क्षति भएको छ । दुई घर जलेर क्षति भएको छ । आगो निभाउँदा दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले आगोले वन मात्रै नभई सयौँ जीवजन्तुको बासस्थान र पन्छीको गुँडसमेत जलेको बताउनुभयो । मेलौली नगरपालिकाको रोडिदेवल र सलेनामा पाँच सय मिटर खानेपानीको पाइप जलेर नष्ट भएको छ । दोगडाकेदारमा एक हजार आठ सय मिटर र पाटन नगरपालिकामा पाँच सय मिटर गरी तीन हजार मिटर पाइप जलेको छ । वनमा घाँस काट्दै गरेका दशरथचन्द नगरपालिका–१ का दुई महिला आगो निभाउँदा घाइते भएका छन् । आगलागीले सिगास गाउँपालिका–२, गाँजरी र पञ्चेश्वर गाउँपालिका–४, बिनायमा एक/एक घर जलेर नष्ट भएका छन् । 

आगलागीका घटना बढ्दै गए पनि डिभिजन वन कार्यालय र जिल्लाभर रहेका ३७२ वटा सामुदायिक वनका पदाधिकारी भने तैँ चुप मैँ चुपको अवस्थामा छन् । प्रहरी एक्लैको प्रयासले आगलागीका घटना नियन्त्रण हुन नसक्ने भएकाले सरोकारवाला निकाय र वन उपभोक्ता समूह जागरुक बन्नुपर्ने प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 

वनबाट सल्केको आगो अनाथ बालबालिका बस्दै आएको छात्रावासतर्फ आएपछि प्रहरीको अगुवाइमा नियन्त्रण गरी थप क्षति हुनबाट जोगाइएको छ । डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले मानिसकै कारण वनमा आगलागी भइरहेको बताउनुभयो । 

जति सम्झाउँदा पनि स्थानीयले आगो लगाउन नछाडेको गुनासो उहाँले राख्नुभयो । “हामी त भन्दाभन्दै थाकेर बसिसक्यौँ,” वन प्रमुख यादवले भन्नुभयो, “कति ठाउँमा आगो निभाउनु ? वन कार्यालयमा कर्मचारी पनि छैनन् । सामुदायिक वन उपभोक्ता समूहलाई निगरानी गरेर आगो नियन्त्रण गर्न निर्देशन दिएका छौँ ।”