• १४ जेठ २०८१, सोमबार

‘अवैधानिक निवेदनको आधारमा दल विभाजन हुन्नँ’

blog

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ, वैशाख २४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने बताएको छ ।

जसपा, नेपालका प्रवक्ता मनिष कुमार सुमनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र दलको बहुमत केन्द्रीय सदस्य पार्टीप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरूले निर्वाचन आयोगमा अवैधानिक निवेदन दिएको आधारमा दल विभाजन हुन नसक्ने बताएको छ ।

जारी विज्ञप्तिमा लेखिएको छ, ‘‘दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोगमा गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न हुन अनुरोध छ ।’’

आइतबार जसपा, नेपालका नेता अशोक राई लगायत सात जना सांसदले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका थिए ।