• ३ असार २०८१, सोमबार

चार सवारी साधन दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

blog

चितवन,  जेठ १४ गते ।  नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैनी गाउँपालिका–३ बस्ने १३ वर्षीय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन् । पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

रिजालका अनुसार काठमाडौँबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका हुन् । रासस