• ३ असार २०८१, सोमबार

चट्याङ लागेर महिलाको मृत्यु

blog

गजेन्द्र गुरुङ

खजुरा, जेठ १३ गते । बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले आइतबार दिउँसो परेको चट्याङ लागेर राप्तीसोनारी ८ का एक महिलाको ज्यान गएको जानकारी दिनुभयो ।

प्रनाउ डाँगीका अनुसार राप्तीसोनारी ८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन जानुभएकी ४० वर्षीया पुतला खत्रीको दिउँसो परेको चट्याङमा परी घटनास्थलमै ज्यान गएको हो । 

उहाँसँगै बाख्रा चराउन गएका अन्य दुई जना महिला पनि सामान्य घाइते भएको उहाँले बताउनुभयो । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेको उहाँले जानकारी दिनुभयो ।