• ३ असार २०८१, सोमबार

अध्यक्ष सिरोहियालाई अदालत उपस्थित गराइँदै

blog

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै । फाइल तस्बिर

विजयकुमार साह
ढल्केबर, जेठ १४ गते ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार अदालत उपस्थित गराइँदै छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा रहनुभएका अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार राती अस्पताल भर्ना गरिएको थियो । टाउको दुख्ने तथा रिँगटा लाग्ने समस्या देखिएपछि उहाँलाई राती ९ बजे प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ अवस्था गम्भीर हुँदै गएपछि जनकपुरकै काव्या अस्पतालमा रेफर गरिएको थियो । उहाँ अहिले पनि त्यही अस्पतालमा उपचाररत हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले अध्यक्ष सिरोहियालाई अदालतमा उपस्थित गराउने बताउनुभयो । उपचाररत उहाँको स्वास्थ्य जाँच भइरहेको र स्वास्थ्य परीक्षणपश्चात् अदालतमा उपस्थित गराउने उहाँले जानकारी दिनुभयो ।

नागरिकता सम्बन्धित कसुर मुद्दामा पक्राउ परेका अध्यक्ष सिरोहियालाई शुक्रबार दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । जिल्ला न्यायधीश रोमाकान्त ज्ञवालीको इजलासले उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि थप तीन दिनको म्याद थप गर्नुभएको थियो ।