• ६ जेठ २०८१, आइतबार

गर्मीमा पनि उत्साहजनक रक्तदान

blog

कार्यक्रममा सहभागीहरु रक्तदान गर्दै । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २४ गते । अत्यधिक गर्मी र तातो हावा चलिरहेको समयमा पनि बाँकेमा उत्साहजनक तरिकाले रक्तदान भएको छ ।  प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका अनुसार हरेक वर्ष गर्मीका बेला रक्तदान गर्नेहरूको सङ्ख्यामा कमी आउनेगरेका कारणले अत्यधिक गर्मीको बेला रगतको चरम अभाव हुने गरेको छ । 

यस पटक अत्यधिक गर्मी र लुकाे समयमा पनि नेपालगन्ज र कोहलपुरमा रक्तदानका कार्यक्रम निरन्तर भइरहेकाले रगतको सामान्य अभाव भए पनि धेरै अभाव नभएको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरीले बताउनुभयो । 

उहाँले रक्तदानको व्यवस्था गर्दै आउनुभएका सङ्घ संस्था र व्यक्तिहरूको अथक प्रयास र सहयोगी भावनाका कारण अहिलेको अति नै चर्को गर्मीमा पनि रक्तदानका कार्यक्रम निरन्तर भइरहेको बताउनुभयो । 

सो क्रममा सन्त निरङ्कारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले उत्साहपूर्वक रक्तदान गरेको प्राविधिक गिरीले बताउनुभयो । 

यसअघि नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक गिरीलाई रगत सङ्कलन गर्ने पाकेट हस्तान्तरण गरेर सो रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । 

‘रगत नालीमा होइन, नाडीमा बगाऔँ’ भन्ने मूल नाराका साथ रक्तदान सुरु गरिएको  सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्मा, सन्त निरङ्कारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख शिवप्रसाद गोडिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा, नेपालगन्ज उप–महानगरपालिका वार्ड ६ का वडाध्यक्ष समीरप्रताप सिंह र स्थानीय खेम विष्टलगायतले रक्तदानको महत्वबारे चर्चा गर्नुभएको थियो । 

सो रक्तदान कार्यक्रममा सन्त निरङ्कारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख शिवप्रसाद गोडिया, हिमाल खडका, आयुष थापामगर, ध्रुव बराल, माया बराल, सागर सुनार, राजेश कश्यप, गोविन्द निषाद, राज चक्रवर्ती, मिना राना, प्रमोद गोडिया, विश्वास भण्डारी, पार्वती न्यौपाने, सचिन शाही, जमुना शेर्पा, निगमा शेर्पा, शर्मिला बिक, सुरेन्द्रकुमार गोडियालगायतले रक्तदान गर्नुभयो ।