• ६ जेठ २०८१, आइतबार

साइकल यात्राबाटै विश्व पहिचान

blog

दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीका पुष्कर शाहले साइकलमार्फत ११ वर्षमा दुई लाख २१ हजार किलोमिटर दुरी पार गरी १५५ देश घुम्नुभयो । यस कार्यका लागि एक करोड ७० लाख रुपियाँ खर्च भयो । उहाँले राज्यको एक पैसा पनि खर्च गर्नुभएन । विश्व साइकल यात्री शाहले विदेश जाने अनेक अवसर त्याग्नुभयो । नेपालको झन्डा फहराउँदै संसार चहार्नुभयो तर पलायनको बाटो रोज्नुभएन । जन्मभूमिको माया गरेर स्वदेश नै फर्कनुभयो । 

नेपालको प्रतिनिधित्व गर्दै विदेश गएका थुप्रै कलाकार, खेलाडी, उच्च पदस्थ, नेता, कर्मचारीलगायत उतै लुकेर बसेका दृष्टान्त धेरै छन् । अवसर पाएर पनि आफ्नो माटोप्रति साइकल यात्री शाहले भने बेइमानी गर्नुभएन । बरु संसारका सञ्चार माध्यममा नेपालबारे बोलेर बुद्ध नेपालका रत्न हुन् भनेर विश्वलाई चिनाउनुभयो । विभिन्न देशका झन्डा सगरमाथामा लगेर फहराउनुभयो । अठोट, समर्पण, त्याग र साहसको भोकले २०५५ साउन १६ गते आफ्नी आमाले दिएको सय रुपियाँ बाटो खर्च र आशीर्वाद लिएर सदरमुकाम चरीकोटबाट शाहले साइकल यात्रा सुरु गर्नुभएको हो । विश्वका १५५ देश भ्रमण गरी २०६७ साल जेठ ४ गते उहाँले सगरमाथा आरोहण गर्नुभयो । उहाँको यो कार्य विश्व कीर्तिमान भएको छ ।  आफ्नो बैँसको ऊर्जा देश चिनाउन र संसार चिन्न उहाँले खर्चिनुभयो । देश बनाउने महाअभियानको हिस्सा बन्न उहाँ पुनः कस्सिनुभएको छ । उहाँ विश्व साइकल यात्राका एउटा अनौपचारिक महाविद्यालय हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन ताका हातमा गोली लागेर पनि बाँच्नुभयो । आज विश्वमा साहसिक साइकल यात्रीको रूपमा उहाँ परिचित हुनुहुन्छ । उहाँ संसारभरका मिडियाले कभरेज दिएका एडभेन्चर्स व्यक्ति हुनुहुन्छ । करोडौँले शाहको साहस र हिम्मतलाई सुनेका छन्, पढेका छन् र देखेका छन् । यात्राका क्रममा शाह भयानक मृत्युको पन्जाबाट पटक पटक फुत्किन सफल हुनुभएको छ । 

शाह नेपाल आमाका सुपुत्र हुनुहुन्छ । आमनेपालीका उहाँ गर्व गर्नलायक पात्र हुनुहुन्छ । उहँको ज्ञान, सिप, अनुभव र क्षमतालाई राज्यले आफ्नो संरक्षण र अभिभावकत्व दिएर हुर्काउनु पर्छ । उहाँ भन्नुहुन्छ, “म जे सक्छु देशका लागि सास रहुन्जेल आफ्नो बुताले भ्याएको र अक्कलले दिएको काम गरिरहन्छु । देशले मेरो अनुभव प्रयोग ग¥यो भने देशलाई घाटा त हुँदैन ।”

विश्व साइकल यात्री शाह अथाह ज्ञान, सूचना, अनुभव र जानकारीका ‘इन साइक्लोपिडिया’ नै हुनुहुन्छ । विश्वमा चलेका पुँजीवाद, समाजवाद, सामन्तवाद, साम्यवाद, राजतन्त्र, गणतन्त्र, धर्मतन्त्र सबै वाद र सिद्धान्तले चलेका मुलुकको शासन व्यवस्था र परिपाटी तिनका गुण र दोषबारे धेरथोर ज्ञान आर्जेको उहाँको कथन छ । नवीन काम गर्ने युवा र नयाँ यात्रीका लागि शाह एउटा प्रेरणा पुञ्ज हुनुहुन्छ । शाह बिरानो मुलुकमा पनि छिटै साथी बनाएर आफ्नो प्रभावमा राख्न खप्पिस हुनुहुन्छ । 

यात्राका क्रममा सुन्तलाका बोक्राको सिला खोजेर टन्न अघाएका क्षण तथा पिजा र बर्गर नरुचेका क्षणहरू उहाँसँग अहिले पनि ताजा छन् । उहाँसँग जङ्गली हिंस्रक जनावरबाट बच्दै हिँडेका कहालीलाग्दा अनुभव, आफ्नै साइकल चोरी हुँदादेखि चोर सम्झेर आफैँ पक्राउ परेका अनुभूति, उत्तर अमेरिकाको रक्की माउन्टेनमा माइनस पाँच डिग्रीमा साइकल दौडाएको र सहारा मरुभूमिका ताता बालुवामा पाइडल घुमाएको जस्ता अनगन्ती स्मरणहरू उहाँसँग ताजै छन् । नेपाली श्रम, सिप, जाँगर र पसिनाले विदेशी माटो मलिलो बन्ने तर सुन फल्ने नेपाली माटो रुखो भएकोमा उहाँलाई चिन्ता छ । संसार घुम्दा नेपाल जति सुन्दर मुलुक उहाँले देख्नुभएन । युवा शक्ति पलायन हुनाले अहिले नेपाल उजाड र सुक्खा भएर खेतीपाती हुन छोडेपछि युवालाई स्वदेश फर्काउनु पर्ने शाहको धारणा रहेको छ । 

विश्वमा छरिएर रहेका नेपालीलाई सन् २०३० सम्म स्वदेश फर्काउने वातावरण बनाउन शाह फेरि पनि विश्व यात्राको सोचमा हुनुहुन्छ । उहाँ नेपालीलाई मात्र होइन नेपाल घुमेका र घुम्न चाहने विश्वका सबै मानिसलाई नेपाल घुम्न प्रेरित गर्न चाहनुहुन्छ । नेपाल बनाउने उहाँको एक मात्र सपना भएकोले विश्वमा छरिएर रहेका नेपालीलाई आफ्नै भूमिमा फर्कन आह्वान गर्दै शाहले ‘ब्याक टु नेपाल’ को अभियान लिएर मे महिनादेखि अगस्तसम्म छ महिना अमेरिकाका ५० राज्यमा पुगेर नेपाल जाउँ भन्ने अभियानसँग धेरैलाई जोड्नुभयो । 

शाह निकै रसिक, सौखिन र लहडी पनि हुनुहुन्छ । करिब १९ सय प्रकारको बियरको स्वाद लिनुभएका उहाँले ती बियरका बिर्को बटुलेर पनि राख्नुभएको छ । उहाँसँग सबै देशको सिक्का, हुलाक टिकट, दसौँ हजार नोटहरू, उपहार पाएका चिजहरूको सङ्ग्रह छ । साथीभाइसँग माइतीघरको छ्याङ पसलमा छ्याङको नशामै विश्व साइकल यात्रा गर्ने उद्घोष गर्नुभएका शाहले यात्राको क्रममा तीन साइकल, २७० टायर, १९५ ट्युब, १४० साइकल चेन, २६ जोडी पाइडल, १४ हेल्मेट, ५३ जोडी पन्जा र ११४ जोडी साइक्लिङ कस्ट्युमको सहायताले आफ्नो अभियानलाई पूर्णता दिनुभएको हो । ‘संसारलाई साढे पाँच फन्को’ पुस्तकका लेखक शाह अर्को त्यस्तै पुस्तक प्रकाशनको पनि तयारीमा हुनुहुन्छ ।  

 

Author

बाबुराम शर्मा