वैशाख २४ गते नेपाली समाजको विकास र रुपान्तरणका लागि एउटा महत्वपूर्ण दिन हो । १२४ वर्षअघि आजैका दिन नेपाली समाजमा आम संचारको धिपधिपे दियो बल्न थालेको थियो। तत्कालीन राणा प्रधानमन्त्री देव शम्शेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशनको सुरुवात भयो। अनुदार शासन र पुरातनबादले जकडिएको तत्कालीन नेपाली समाजमा अखबार प्रकाशनको प्रारम्भ सजिलो र सानो काम थिएन । त्यस्तो असहज परिवेशमा पनि जनतालाई सूचना दिनुपर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाशन गर्नुलाई एउटा साहसिक कदम मान्नुपर्छ । नेपाली समाजलाई लोकतन्त्रको मार्गमा लम्किने प्रारम्भिक प्रेरणा यही धिपधिपे दियोले प्रदान गरेको थियो ।
गोरखापत्र नेपाली पत्रकारिताको गौरवशाली संस्था हो। यो एउटा अखबार मात्र होइन, नेपाली पत्रकारिताको पुरानो र प्रतिष्ठित पाठशाला पनि हो। मुलुककै जेठो समाचारपत्रका रूपमा १२४ वर्षदेखि अविरल प्रकाशित गोरखापत्र आफैमा सिंगो इतिहास पनि हो। हाम्रो शभ्यता र संस्कृति यो संस्थासँग जोडिएको छ। हाम्रो समृद्ध साहित्य र भाषिक विविधताको सम्वद्र्धन तथा प्रबद्र्धनमा यो संस्थाले महत्वपूर्ण योगदान दिएको छ ।
१९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ पत्रकारिताको शिलान्यास मात्र थिएन, आम सञ्चारको विकासमा पनि एउटा कोशेढुंगा नै थियो। नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्रको १२४ वर्ष लामो अविचलित यात्रा आफैमा अभूूतपूर्व र गौरवमय छ । इतिहासका सबैखाले उकाली ओराली भोगेको यो संस्था सिंगो युगको एउटा जीवन्त प्रतिनिधि पनि हो। नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका सबै आरोह अवरोहको सक्रिय साक्षी रुपमा रहेको छ गोरखापत्र ।
जनशक्ति, सामग्री विविधता, पहुँच, प्राविधिक स्रोत साधनका हिसाबले गोरखापत्र नेपालकै सबैभन्दा ठूलो प्रकाशनगृह हो । गोरखापत्र दैनिकसँगै हामीसँग अंग्रेजी भाषाको पहिलो ब्रोडसिट दैनिक दि राइजिङ नेपाल, नेपाली साहित्यको प्रतिष्ठित म्यागजिन मधुपर्क, युवा ढुकढुकी युवामंच, र बालबालिको प्रिय पत्रिक मुना पनि निरन्तर प्रकाशनमा छन् । संस्थाको भविष्यसँग जोडिएको महत्वपूर्ण अंग गोरखापत्र डिजिटलको विकास र विस्तार पनि हाम्रो प्राथमिकतामा छ ।
सूचना तथा विचारको संप्रेषण मात्रै होइन, इतिहासको सुरक्षा एवं सांस्कृतिक विविधताको प्रवद्र्धनमा पनि यो संस्थाको महत्वपूर्ण योगदान छ । नयाँ नेपालको समावेशी प्रकाशनमार्फत ४३ भाषामा सामग्री प्रकाशित गरेर राष्ट्रिय एकता तथा साप्रदायिक सद्भावलाई अझ् सुदृढ बनाउने दिशामा गोरखापत्रले गरिरहेको प्रयासको सबैतिरबाट प्रशंसा भएको छ । गोरखापत्र र अन्य प्रकाशनका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा संग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवद्र्धन गर्न राष्ट्रिय अभिलेखालय, प्रेस काउन्सिल र मदन पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयलगायत अन्य सरोकारवाला संस्थाहरुसँगसमेत सहकार्यमा डिजिटल अर्काइभिङको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको छ ।
एउटा विशिष्ट परिवेशमा जन्मिएको यो संस्था लामो समय परम्परागत ढाँचा र ढर्रामा चल्यो । विरासत र इतिहासले हामी जति समृद्ध छौं, वर्तमानमा संस्थाको अवस्था त्यत्तिकै सुन्दर र सबल बनाउन आवश्यक छ । वर्तमान प्रतिस्पर्धात्मक बजारमा आफूलाई प्रभावकारी रुपमा उभ्याउन हामीले समयको माग र प्रविधिको गतिअनुसार हाम्रो सोच तथा कार्य शैली बदल्नैपर्छ । आन्तरिक संरचना तथा प्रणालीमा सुधार तथा उत्पादनको गुणस्तर अभिवृद्धि गरेर संस्थानलाई वर्तमान डिजिटल युग सुहाउँदो एउटा स्मार्ट मिडिया संस्थाका रुपमा विकास गर्नु आजको आवश्यकता हो । डिजिटल प्रविधिको दु्रततर विकाससँगै छापा माध्यमले सामना गर्नुपरेको चुनौतीपूर्ण अवस्था, खुम्चिँदो बिज्ञापन बजार र आर्थिक मन्दीलाई ध्यानमा राखेर ब्यापार प्रवद्र्धनको नयाँ रणनीति तय गर्दै उल्लेखनीय रुपमा आम्दानी बढाएर संस्थानलाई आत्मनिर्भर बनाउन सक्दो कोसिस गरिएको छ ।
आर्थिक वर्ष (०७८/७९) मा विज्ञापन आम्दानी ५३ करोड ७३ लाख हासिल भएकोमा आर्थिक वर्ष ७९/८० मा ६७ करोड ४९ लाख आम्दानी प्राप्त भएको छ। अघिल्लो वर्षको तुलनामा वितेको आर्थिक वर्ष मा २५ प्रतिशतले (१४ करोड) आम्दानी बृद्धि भएको छ । अघिल्ला आर्थिक वर्षहरुको बाँकी लेखापरीक्षण सम्पन्न गरेर, सरकारलाई तिर्नुपर्ने साँवा ब्याज बुझाएर, कर दायित्वसमेत फस्र्योट गरेर संस्थानको वित्तिय प्रणलीलाई लिकमा ल्याउने कोसिस गरिएको। २०७४ साल यताकै आयकरको वाँकी दायित्व समेत गरी करिव ११ करोड कर चुक्ता गरिएको छ । संस्थानको नाममा रहेको नेपाल सरकारको ७ करोड ऋण पनि चुक्ता गरिएको छ । लेखाप्रणालीलाई अझ् वैज्ञानिक र जवफदेही बनाउनका लागि विज्ञ सेवा खरिद गरी नेपाल लेखामान प्रणाली (एनएफआरएस) मा प्रवेश गर्न सफल भएका छौं ।
प्रविधिको द्रुततर विकाससँगै संचार उद्यमको चित्र र चरित्र बदलिएको छ। डिजिटल मिडियाको व्यापकताले आम संचारका परम्परागत माध्यमहरुको जीवन जोखिममा पर्दैछ ।सामाजिक माध्यमको आक्रमक प्रभाव र अनियन्त्रित पहुँचले मूलधारको पत्रकारिता, त्यसमा पनि पम्परागत छापा पत्रकारिता अझ् अप्ठ्यारोमा छ। पत्रकारिताको परम्परागत परिभाषा र यसका आयमसमेत बदलिएका छन्। छिनछिनमा ताजा सूचना प्रदान गर्ने अनगिन्ती माध्यम र विकल्प दर्शकसामु सहज रुपमा उपलब्ध छन् । त्यसैले २४ घन्टा कुरेर गोरखापत्र र दि राइजिङ नेपाल किन पढनुपर्ने हो ? अवको मूल प्रश्न र हाम्रो चुनौती पनि यही हो । यसलाई मनन गरेर हामीले हाम्रो उत्पादनको ढाँचा र गुणस्तरमा अझ् व्यापक परिमार्जन गर्नुपर्ने आवश्यकता छ । हाम्रो प्रयास त्यही दिशामा केन्द्रित छ।
गोरखापत्र र दि राइजिङ नेपालको डिजाइन लेआउटमा परिवर्तनसँगै समाचार तथा अन्य सामग्रीहरु पनि थप गुणस्तरीय र पठनीय भएका छन् । गोरखापत्र सरकारको भाका र भाषण मात्रै छाप्ने भजनमण्डली हो भन्ने जुन प्रकारको भाष्य निर्माण भएको थियो, त्यसलाई लगभग अन्त्य गर्ने प्रयास गरिएको छ । पहिले सरकारी भूत र भ्रमले हामी अलि खुम्चिएको वा अनावश्यक स्वनियन्त्रित भएको अवस्था थियो, त्यो अहिले छैन। समाजिक बेथिति र जनसरोकारका प्रत्यक्ष मुद्दामा गोरखापत्रले निजी क्षेत्रका मिडिया भन्दा अगाडि बढेर खोजमूलक स्टोरी तथा सामग्री पस्किरहेको प्रतिक्रिया स्वयम पाठकबाटै आइरहेको छ । विचार तथा दृष्टिकोणमा सन्तुलन कायम गर्दै विविधता थपिएको छ ।हामी राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै, नागरिकप्रतिको जवाफदेहीतालाई ख्याल गर्दै व्यवसायिक चरित्र कायम गर्ने प्रयास गरेका छौं ।
गोरखापत्र प्रकाशनको प्रारम्भलाई आधार मानेर वैशाख २४ लाई सरकारले राष्ट्रिय पत्रकारिता दिवसको रुपमा घोषण गर्नु र राज्यस्तरमै यसलाई मनाइनु हाम्रा लागि थप गौरव र हर्षको विषय हो। यो विशेष अवसरमा हामीलाई सुभकामना दिएर न्यानो हौसला प्रदान गर्नुहुने सम्मानीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय संचार तथा सूचना प्रविधिमन्त्रीज्यू समक्ष विशेष कृतज्ञता व्यक्त गर्दछौं। विभिन्न कालखण्डमा यो संस्थामा आफ्नो सिप र सिर्जना लगानी गर्ने सबै अग्रज तथा अहिले परिश्रम गरिहेका गोरखापत्र परिवारका सबै सदस्यहरुको योगदानप्रति सम्मान व्यक्त गर्दछौं। गोरखापत्र प्रकाशनको १२४ वर्ष लामो अविरल र अविचलित यात्रामा हामीलाई निरन्तर माया र हौसला प्रदान गर्ने सबै सम्मानित पाठक, सहयोगी तथा शुभचिन्तकप्रति हार्दिक आभार गर्न चाहान्छौं।
कार्यकारी अध्यक्ष
विष्णु सुवेदी