काठमाडौँ, वैशाख २४ गते । विक्रम संवत् १९३७ मा तत्कालीन ओखलढुङ्गाको खार्पामा जन्मनुभएका डिट्ठा नन्दलाल पोखरेल कामका सिलसिलामा धेरैजसो खार्पाबाहिरै रहनुभयो । उहाँ नयाँ ठाउँ, नयाँ ज्ञान सिक्न र सिकाउन औधी सोखिन हुनुहुन्थ्यो । उहाँको त्यो चाहनामा गोरखापत्रले जीवनपर्यन्त सहयोग गर्यो । उहाँ मात्र होइन, उहाँपछिको चौथो पुस्ता पनि गोरखापत्रबाटै लाभान्वित भइरहेको छ ।
डिट्ठा नन्दलालले नै गोरखापत्र ज्ञानको भण्डार रहेको महसुस गर्दै त्यसलाई सन्ततिमा पुस्तान्तरण गर्नुभयो । त्यसै ज्ञानको जगमा चौथो पुस्ता पनातिपनातिनीसम्म सरकारी जागिरमा प्रवेश गर्न सफल भएको उहाँका नाति थानेश्वर पोखरेल बताउनुहुन्छ ।
गोरखापत्रसँगको उहाँको साक्षात्कार झन् रोचक छ । केही गरौँ भन्ने जवानीको जोशमा साबिक ओखलढुङ्गा (हालको खोटाङ) बाट सुनसरी झर्नुभयो । घर छाड्नुअघि नै उहाँको विवाह चम्पादेवी खतिवडासँग भइसकेको थियो । तत्कालीन राणा सरकारको कर्मचारी हुने मनसुवाले मन्सापुर विर्तामा पटवारी कायस्थसँग लेखापढीको काम सिक्नुभयो । लगत्तै हनुमान नगर माल अड्डामा नायब मुखिया भएर काम थाल्नुभयो ।
नभन्दै तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको झापाको अनारमनी विर्तामा तहरिर मुखियाका रूपमा काम पनि पाउनुभयो । उहाँमा विर्ताको स्याहा–स्रेस्तामार्फत हिसाबकिताब दुरुस्त बनाउने अचुक कला थियो । त्यही कलाले सरकारको नजरमा उहाँ हमेसा रहनुभयो ।
त्यसअघि नै देवशमशेरको प्रधानमन्त्रीको कार्यकालमा विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन सुरु भइसकेको थियो । देशका विभिन्न मुख्य सरकारी अड्डामा गोरखापत्र जान्थ्यो । सरकारी अड्डामै रहँदा नन्दलालको गोरखापत्रसँग साक्षात्कार भयो । त्यसपछि तत्कालीन प्रधानमन्त्री वीरशमशेरकी कान्छी पत्नीको विर्ता धनुषाको रघुनाथपुर माल अड्डाको स्रेस्ता व्यवस्थित गर्ने जिम्मेवारी पाउनुभयो । त्यो विर्ताको कटानी फँडानीसँगै बस्ती विकास सुरु गर्न कटानी अड्डा स्थापना भयो । त्यस अड्डाको हाकिम डिट्ठाका रूपमा उहाँको नियुक्तिपछि गोरखापत्रसँगको सान्निध्य झन् बढ्यो । उहाँ गोरखापत्रको निरन्तर पाठक बन्नुभयो । तराईमै जन्मेर हुर्कनुभएका छोराहरू रामप्रसाद, रेभामणि, पोषराज, ढुण्डीराजसहितका छ छोरा र दुई छोरी गरी आठ सन्तानलाई पनि उहाँले गोरखापत्रबाट दरबार र बाहिरी संसारको ज्ञान सिक्न लगाउनुभयो । दुई छोरा र दुई छोरीको भने असामयिक निधन भयो ।
रामप्रसादबाहेक रेभामणि, पोषराज र ढुण्डीराजले गोरखापत्रको ज्ञान र पिताको पथ पछ्याउँदै लेखापढीमा उन्नति राम्रो गरेको नाति थानेश्वरले बताउनुभयो । रामप्रसाद भने कृषिमा पौरख गर्न रमाउनुभयो । पोखरेलले स्मरण गर्नुहुन्छ, “हजुरबुवाको सेतो लामो दारी मलाई अझै याद छ, त्यो दारी उहाँको ठुलो शान थियो ।” नातिहरू काखमा राखेर नाकमा नस सुँघ्दै खेलाउने र हँसाउने उहाँको बानीका कारण काखमा बस्न सबै नातिको तँछाडमछाड हुन्थ्यो ।
सरकारी जागिरबाट अवकाश पाएपछि उहाँ खार्पै फर्कनुभयो तर गोरखापत्र पढ्ने लत छुटेन । छोराहरूले पनि उहाँको गोरखापत्र पढ्ने मोहलाई अन्तिम अवस्थासम्म पनि पूरा गरिदिए ग्राहक बनेर । गोरखापत्रको प्रधान कार्यालय, काठमाडौँमै पुगेर उहाँका छोरा ढुण्डीराज पोखरेलले हरेक वर्ष वार्षिक ग्राहक शुल्क बुझाउनुहुन्थ्यो पत्रिका भने हुलाकमार्फत झन्डै नौदेखि १५ दिनसम्ममा खार्पै जान्थ्यो । त्यसबेला वार्षिक ग्राहक बनेपछि हुलाकबाट पत्रिका पठाउने चलन थियो ।
आधा महिनाअघिको खबर पनि ताजै मानिन्थ्यो । डिट्ठाको घरमा गोरखापत्र आएपछि देशको खबर बुझ्न सबै उहाँकै घरमा भेला हुन्थे । गाउँका भद्रभलादमीलाई आँगनको वरिपरि राखेर उहाँ गोरखापत्रका हरेक खबर पढेर सुनाउनुहुन्थ्यो । काठमाडौँमा संस्कृत भाषा पाठशालामा अध्यापन गर्ने छोरा पण्डित ढुण्डीराजले बुवाको गोरखापत्रप्रतिको लगावलाई खार्पामा पनि पढ्ने तारतम्य मिलाउनुभएको थियो । विसं २००६ मा गोरखापत्रको कार्यालयमा बुझाइएको चार रुपियाँको रसिद देखाउँदै ढुण्डीराजका कान्छा छोरा अच्युत पोखरेलले भन्नुभयो, “यति पैसाले त्यो बेला तराईमा चार बिघा बढी जग्गा आउँथ्यो तर बुवाले हजुरबाका लागि गोरखापत्र पढ्नै त्यो खर्चिनुभयो ।”
त्यसताका गोरखापत्र हप्ताको तीन पटक निस्कन्थ्यो । गोरखापत्रको पाठक हुँदाहुँदै विसं २००९ मा नन्दलाल पोखरेलको निधन भयो । छोरा नातिले गाउँ छाडेपछि त्यो उतै रह्यो । उहाँको निधन हुँदा माइलो छोरापट्टिको नाति पदमप्रसाद पोखरेल चार वर्ष लाग्ने बेला भएको थियोे । पदमप्रसादको आँखामा हजुरबुवाको मुहार र प्रेमको झल्को निकै गढेर बसेको छ । पदमले सम्झनुभयो, “उहाँ निकै उदार हुनुहुन्थ्यो, आफ्ना मात्र होइन गाउँका सबैलाई उत्तिकै माया गर्नुहुन्थ्यो ।” हजुरबुवाको एउटा पनि तस्बिर थिएन । पदमकै स्मरणका आधारमा पछि हजुरबुवा र हजुरआमा दुवैको मुहारचित्रसँगै तस्बिर बन्यो । हजुरबुवाको बिँडो थाम्दै उहाँले गोरखापत्रको सहयोगमा नेपाल सरकारको सचिव भएर सेवा गर्नुभयो ।
पदम मात्र होइन, नन्दलालका छोरा नाति पुस्ताका सबैले गोरखापत्रको भरपूर उपयोग गर्नुभयो । उहाँहरूको वंशमा धेरै जना सरकारी सेवामा हुनुहुन्छ । अहिलेको गोरखापत्रको तुलनामा पुरानो कालखण्डको गोरखापत्र निकै विश्वसनीय रहेको अनुभव नाति थानेश्वरको छ । त्यसबेला राजा र राणाको काजको बखानसँगै विश्वपरिवेशको ज्ञान बढी दिइन्थ्यो । अब भने समयको माग अनुसार गोरखापत्रका खुराक पाठकमाझ पस्कन सकेमा जनमैत्री गोरखापत्र बन्ने विश्वास नाति अच्युत गर्नुहुन्छ ।