• ५ जेठ २०८१, शनिबार

गाउँमै उपचार पाएपछि स्थानीय खुसी

blog

शिविरमा दाँतको उपचार गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, वैशाख २३ गते । गाउँमा नै दाँत उपचार गर्न पाएपछि पुतलीबजार नगरपालिका–१३ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ५३ जनाको दाँतको उपचार गरेको हो । 

रोटरी क्लब अफ नक्साल शक्ति पोखराको आयोजनामा भएको शिविरमा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग र स्थानीय स्मृति युवा क्लबको सहकार्य रहेको थियो । एक दिने निःशुल्क बृहत् दन्त तथा स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै दाँत सम्बन्धी सेवा लिन पाएको भन्दै स्थानीय निर्मला नेपालीले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर दाँतको उपचारका लागि जिल्ला अस्पताल तथा पोखरा नै जानु पर्ने बाध्यता रहेको छ ।” 

लामो समयदेखि दुःखेको दाँत गाउँमा नै सहज रूपमा निकाल्न पाएको भन्दै ८१ वर्षीय शेर बहादुर थापाले नियमित रूपमा गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।

गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएका स्थानीय बुद्धि बहादुर परियारको भनाइ छ । गाउँगाउँमा पुगेर सहज रूपमा स्वास्थ्य परीक्षण गर्ने आफूहरूको अभियान रहेको रोटरी क्लबका संस्थापक अध्यक्ष डा लुना शर्मा अर्यालले बताउनुभयो । स्वास्थ्य सेवाको सहज पहुँच नपुगेको ठाउँमा आफूहरूले नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको डा. अर्यालको भनाइ छ । 

दाँतसँगै सम्पूर्ण स्वास्थ्यको बारेमा नागरिक सचेत हुनुपर्ने भन्दै डा अर्यालले स्वस्थ रहँदा मात्रै उत्पादनशील बन्न सकिने स्पष्ट पार्नुभयो । गण्डकी मेडिकल कलेज र स्याङ्जाका स्थानीय समुदाय बिचको सहकार्य निरन्तर रहेको भन्दै अर्यालले गाउँगाउँमा सञ्चालन हुने शिविरलाई निरन्तरता दिइने बताउनुभयो । नियमित रूपमा शिविर सञ्चालन गरिदिन आग्रह गर्नुहुँदै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शिविरमा पुतलीबजार नगरपालिका उपमेयर देवी अर्याल, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठ, नगरपालिकाका वडा नं १३ का अध्यक्ष जुद्धबहादुर राना, रोटरी क्लब अफ नक्साल शक्तिका पब्लिक इमेज चेयर तथा गण्डकी मेडिकल कलेजका सहप्राध्यापक डा नुवादत्त सुवेदी,क्लबका सर्भिस प्रोजेक्ट चेयर डा उज्ज्वल कोइराला लगायतले गाउँका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न पाउँदा आफूहरूलाई सन्तुष्टि मिलेको बताउनुभयो । 

शिविरमा स्वास्थ्य सम्बन्धी विभिन्न सेवा निःशुल्क प्रदान गरिएको रोटरी क्लब अफ नक्साल शक्तिका कोषाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक २० जनाको दाँत निकालिएको छ  । यस्तै थप उपचार गर्ने बिरामीहरूलाई अस्पतालमा विशेष छुटमा उपचार गरिने अस्पतालले जनाएको छ ।