• २ असार २०८१, आइतबार

अपरिहार्य स्काउट शिक्षा

blog

आजभोलि स्कुल तथा मठमन्दिरमा हरियो ड्रेसमा बालबालिका देखिन्छन् । हरियो ड्रेसमा सजिएका बालबालिका लाइन मिलाउनेदेखि हातमा झाडु बोकेर सरसफाइ गरेको देखिन्छ । झट्ट हेर्दा कतिपयले यी बालबालिका को हुन् भन्ने थाहा नहुन सक्छ तर ती बालबालिका हुन् स्काउट विद्यार्थी । सबै विद्यार्थीमा यसो गरिएको पाइँदैन् । स्काउट भन्नेबित्तिकै कतिपयले मन्दिरको भिडभाडमा लाइन मिलाउने भनेर मात्र बुझ्छन् तर स्काउट त्यतिमै मात्र सीमित छैन । कोही समस्यामा छन् र असहज स्थिति झेलिरहेका छन् भने उनीहरूलाई सहयोग गर्न उनीहरू तत्पर हुन्छन् । 

 विद्यालय वा पाठ्यक्रमसँगै उनीहरूलाई दैनिक जीवनमा आइपर्ने समस्या हल गर्न र बाँच्नका लागि सङ्घर्ष गर्न बालबच्चालाई आत्मनिर्भर बनाउन हुन सिकाउनु पर्छ । बालबालिका खेलौना मिलाउन, जुत्ता पोलिस गर्न, आफ्नो जुठो भाँडा उठाउनसमेत जाँगर गर्दैनन् । यी सबै कुरा आमाबुवाका लागि छाडिदिने गर्छन् । सानोतिनो समस्यासँग पनि जुध्न सक्दैनन् ।

बालबालिकालाई आत्मनिर्भर कसरी बनाउने, समस्यासँग जुध्न कसरी सिकाउने, व्यावहारिक सिप कसरी दिलाउने, चरित्रवान् कसरी बनाउने  यी र यस्तै प्रश्नको समाधान खोज्नमा अधिकांश अभिभावक रुमल्लिरहेका हुन्छन् । अहिले अधिकांश बालबालिकामा आपसमा घुलमिल हुने, मेलमिलाप गर्ने, प्रतिस्पर्धा गर्ने, समस्यासँग जुध्ने बानीको विकास हुन पाएको छैन ।

हरियो सर्ट र हरियो सारी वा फ्रक लगाएका युवा तथा बालिका स्काउट र खरानी रङको सर्ट र पेन्ट लगाएका बालक तथा युवा स्काउटलाई हामीले विभिन्न सामाजिक काममा निरन्तर लागिरहेको पाउने समूह नै हो नेपाल स्काउट । एउटै पहिरनमा सजिएर एकतामूलक रूपमा राष्ट्रमा आइपरेका विभिन्न विपत्को सामना गर्नसम्म नेपाल स्काउट तत्पर रहँदै आएको छ । स्काउटमा विद्यालयको कोर्सभन्दा बाहिरको व्यावहारिक कुरामा जोड दिइन्छ । उनले यसबाट उनीहरूलाई चरित्रवान्, सबल, सक्षम, आत्मनिर्भर, सक्रिय, गतिशील र अनुशासित बनाउन सहयोग पुग्ने बताउनुभयो । 

स्काउटमा खेलको माध्यमबाट ‘फाउन्डेसन अफ स्काउट’, ‘ड्युटी अफ गड’, ‘ड्युटी अफ अदर्स’, ‘ड्युटी अफ सेल्फ’ जस्ता कुरा सिकाइन्छ ।

‘ड्युटी अफ गड’ मा सबै धर्मप्रति समान आस्था राख्न प्रेरित गरी भेदभावको भावना हटाइन्छ । आध्यात्मिक मूल्य खोज्न प्रोत्साहित गरिन्छ । ‘स्काउट अफ अदर्स’ मा शान्ति, समझदारी तथा सहयोगको भावना विकास गरिन्छ । यो प्रयोगात्मक प्रतीज्ञा र नियम हो । यस अन्तर्गत बालबालिकामा भाइचारा, आपसी मेलमिलाप आदि गुण विकास गराइन्छ । यस्तै सेवा र सहयोगको भाव पनि उनीहरूमा विकास गराइन्छ । हरेक दिन एउटा न एउटा राम्रो काम गर्नु पर्छ भन्ने कुरा बुझाइन्छ । स्काउट सिकेपछि आफूमा बेग्लै आत्मविश्वास उत्पन्न हुन्छ ।  स्काउटमा लागेपछि निर्णय क्षमता बढ्ने, हरेक कुरालाई हेर्ने दृष्टिकोण स्पष्ट हुने, नेतृत्व क्षमता विकास हुने अनुशासित र मर्यादित रहन सिक्ने स्काउट विद्यार्थीको अनुभव छ ।

नेपालमा प्रजातन्त्रको आगमनलगत्तै विसं २००९ असार ५ गते राजा त्रिभुवन वीरविक्रम शाहदेवले नेपाल स्काउटको स्थापना गर्नुभएको भए पनि विसं २०३२ मा नेपाल स्काउटले युवा कार्यक्रम नीति तय गर्‍यो र उक्त नीतिकै माध्यमबाट स्काउटिङ गतिविधिलाई निरन्तरता दिइएको पाइन्छ । उक्त नीतिमा छ वर्षदेखि २५ वर्षसम्मका युवालाई स्काउटिङ शिक्षाका विभिन्न तहमा वर्गीकरण गरेर स्काउटिङ गतिविधिमा समावेश गर्न सकिने उल्लेख गरिएको छ ।

नेपालको राजनीति र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका युवा जगत्ले सन् २०१५ सालको भूकम्पपछि उद्धार, राहत र अस्थायी पुनस्र्थापनामा देखाएको स्वयंसेवकीय भूमिका अतुलनीय रहेको छ । 

सङ्घीय संरचना अनुसार नेपाल स्काउटले ७५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरी स्काउटलाई अगाडि बडाएको छ । यसै अनुरूप उपत्यकामा भने अनिवार्य स्काउट शिक्षा लागू गरी सबै नगर तथा पालिकामा रहेका विद्यालयमा स्काउट सञ्चालन गरिरहेको छ । विद्यालयमा स्काउट शिक्षा लागू भए पनि आर्थिक अभावका कारण कैयौँ विद्यार्थी स्काउट शिक्षाबाट वञ्चित छन् ।  

कार्की स्काउट शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।    

  

Author

मेनुका कार्की