• २६ पुस २०८१, शुक्रबार

‘सत्ता समीकरण फेरबदल हुने अवस्था छैन’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (माओवादी केन्द्र) संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकमा सहभागी हुनुहुँदै । तस्बिर : प्रम सचिवालय

काठमाडौँ, वैशाख २३ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा शनिबार सम्बोधन गर्दै उहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सरकार ढाल्न प्रयास गरेकोसम्बन्धी प्राप्त भएका सूचना बैठकलाई जानकारी गराउनुभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो । प्रतिपक्षी दलले सरकार ढाल्न प्रयास जारी राखेको र कहाँ को कोसँग छलफल गर्नुभयो भन्ने सबै सूचना प्राप्त भएको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको बताउँदै पौडेलले “अहिले भर्खरै सत्ता समीकरण तलमाथि हुने अवस्था छैन । सत्ता समीकरण फेरबदल हुने अवस्था देखिँदैन । यो सत्ता साझेदार समीकरण पाँचै वर्ष जान्छ” भन्नुभयो । 

प्रतिपक्षीमा पुगेको दल सधैँ सरकार ढाल्ने र बनाउने काममा मात्रै लाग्नु ठिक नभएको धारणा व्यक्त गर्दै प्रधानमन्त्रीले अब संसद् बैठक सुचारु गर्न विपक्षी दलसँग संवाद गरेपछि सबै ठिकठाक हुने जानकारी दिएको सचिव पौडेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव लिन राखिएको बैठकमा प्रधानमन्त्रीले आर्थिक सङ्कटका कारण ठुलो बजेट ल्याउन नसकिने जानकारी गराउनुभएको थियो । उहाँले थारै बजेटमा राम्रा र लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने दबाबमा भएकाले सुझाव दिन सांसदहरूलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले कुनै व्यक्तिविशेषलाई तोकेर संसदीय समिति बनाउन नसकिने विचार व्यक्त गर्दै समग्र सहकारी समस्यालाई समेटेर समिति बनाउन सकिने बताउनुभएको सचिव पौडेलले जानकारी दिनुभयो । “सहकारीको व्यक्तिविशेषलाई तोकेरभन्दा पनि समग्र विषयलाई हल गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ । एउटा घटना विशेषलाई जोडेर समिति बनाउन सकिने अवस्था छैन । सम्पूर्ण विषयलाई एउटै डालोमा हालेर हल गर्ने गरी समिति बनाउन सकिन्छ । सहकारीको छानबिन गर्ने क्रममा उहाँ (उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने) को विषय पर्न सक्छ । यसबारे कांग्रेससँग छलफल गरेर निष्कर्षमा पुगिने छ,” पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले एउटै व्यक्तिलाई सहकारीसँग जोडेर निरन्तर प्रहार गर्ने प्रवृत्ति ठिक नभएको बताउनुभएको थियो । 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूले रोजगारी वृद्धि र उत्पादनलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिएको सांसद सूर्यमान दोङले जानकारी दिनुभयो । सरकारले यसै वैशाख २८ गते सङ्घीय संसद्को बजेट अधिवेशन बोलाएपछि माओवादी केन्द्रले दलको बैठक बोलाएर छलफल गरेको हो ।