• ५ जेठ २०८१, शनिबार

उपराष्ट्रपति यादवद्वारा मधुमेह नियन्त्रणमा जोड

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव ‘नेपाल डायबिटिज’ संस्थाले आयोजना गरेको ‘डायबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै । तस्बिर : उपराष्ट्रपतिको सचिवालय

काठमाडौँ, वैशाख २२ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले केही वर्षयता सर्ने रोगको तुलनामा नसर्ने रोगका कारण धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गर्दै मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट पनि मृत्यु हुनेको सङ्ख्या उच्च रहेको बताउनुभएको छ ।

काठमाडौँमा शनिबार ‘नेपाल डायबिटिज’ संस्थाले आयोजना गरेको ‘डायबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै उहाँले मधुमेह नियन्त्रणमा जोड दिनुभएको हो । 

‘‘यी रोगहरूलाई निर्मूल पार्न नसके पनि अनुशासित जीवन शैली, खानपान, शारीरिक व्यायाम, नियमित स्वास्थ्य जाँच र समयमै औषधी सेवन गरी यसलाई नियन्त्रणमा राख्न सकिन्छ,’’ उहाँले भन्नुभयो, ‘‘मधुमेह ‘क्रोनिक मेटाबोलिक’ रोग हो, जुन रगतमा ग्लुकोज (चिनी) को मात्रा उच्च स्तरमा पुगेपछि लाग्छ । समयमै यो रोगको पहिचान, निदान, व्यवस्थापन र रोकथाम गर्न नसके व्यक्तिको शरीरमा विभिन्न किसिमको जटिलताहरू निम्त्याउन सक्छ ।’’

उहाँले अगाडि भन्नुभयो, ‘‘मधुमेहले शरीरका महत्त्वपूर्ण अङ्गहरू मुटु, रक्त नली, आँखा, मिर्गौला, गिजा, खुट्टा र स्नायुहरूमा गम्भीर क्षति पुर्‍याउनुको साथै रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउन सक्छ । ह्रदघात, पक्षघात, छालामा सङ्क्रमण, खुट्टामा क्षति र दृष्टिदोषको समस्या पनि हुन सक्छ । त्यसैले यी समस्याहरूबाट बच्नका लागि हामी सचेत हुन अति आवश्यक छ ।’’

उहाँले नेपालजस्तो विकासोन्मुख देशमा जहाँ स्वास्थ्यमा जनताको राम्रो पहुँच नहुनु र रोगहरूको परीक्षण पनि समय–समयमा हुन नसक्नुले समस्या भएको बताउनु भयो । ‘‘परीक्षणको अभावले गाउँघरमा मधुमेहबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा चिन्तित छु’’ उहाँले भन्नुभयो, ‘‘शरीरमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिनको उत्पादन गर्न छाडेपछि लाग्ने यो रोग तीन दशकयता विश्वमा नाटकीय रूपमा बढेको तथ्याङ्कहरूले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को एक प्रतिवेदन अनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ, जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्दछन् । यसैगरी, प्रत्येक वर्ष १५ लाख मानिसको मृत्यु प्रत्यक्ष रूपमा मधुमेहकै कारणले हुने गरेको छ ।’’

उपराष्ट्रपति यादवले यी डरलाग्दा तथ्याङ्कहरूले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर नरहेको देखिएको उल्लेख गर्नुहुँदै सबैलाई आ–आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भीर बन्न आग्रह गर्नुभयो । ‘‘शरीरमा दीर्घकालीन प्रभाव र जटिलताहरू बढाउने मधुमेहलाई उचित औषधी र स्वस्थ जीवनशैलीले व्यवस्थापन÷नियन्त्रण गर्न सकिन्छ । स्वस्थ आहार र शारीरिक गतिविधि बढाउने र धूम्रपान परित्याग गर्न सके मधुमेहलाई रोक्न वा ढिलो गर्न सकिन्छ,’’ उहाँले भन्नुभयो, ‘‘यति गर्दा गर्दै पनि यो रोग लागेमा नियमित स्वास्थ्य परीक्षण, औषधी सेवन, स्क्रिनिङ गरी यसको जटिलताहरूलाई कम गर्न सकिन्छ ।’’ 

उहाँले सीमित स्रोत र साधनका कारण स्वास्थ्य परीक्षण, परामर्श र औषधी उपचारका लागि ‘डाइविटिज नेपाल’ जस्ता संस्थाहरू ग्रामीण भेगहरूमा पुग्न जरुरी रहेको बताउनुभयो ।

‘‘सरकारले चाहेर पनि कतिपय कार्यहरू समयमै गर्न नसकिरहेको अवस्थामा यस्ता सङ्घसंस्थाले गर्ने शिविरहरू महत्त्वपूर्ण हुन सक्छ,’’ उहाँले भन्नुभयो, ‘‘सम्मेलनमा सहभागी सम्पूर्ण विशेषज्ञहरूलाई स्वास्थ्य जस्तो महत्त्वपूर्ण विद्यामा आफूले प्राप्त गरेका ज्ञानहरूलाई एक आपसमा बाँड्न सफलता मिलोस् ।’’

उहाँले कार्यक्रममा आयोजक संस्थाका तर्फबाट काभ्रेस्थित धुलिखेल हस्पिटललाई ‘डायबिटिज अचिभमेन्ट अवार्ड–२०२४’ समेत प्रदान गर्नुभयो ।