• ५ जेठ २०८१, शनिबार

अरू जस्तो होइन आफैँ जस्तो बन्नु पर्छ

blog

साथीहरु साहित्यमा हामी सबैलाई रूचि छ । केही न केही लेखिरहन्छौँ । हामीले साहित्यिक लेखनको आरम्भ गर्ने भनेकै अग्रजहरुले देखाउनुभएको बाटोलाई पछ्याउने हो । अग्रज साहित्यकारहरुले धेरै कुरा हामीजस्तै बालबालिकाका लागि लेखिदिएर हामीलाई सहज बनाइदिनुभएको छ । वैशाख महिनाको स्रष्टा संवादका लागि मैले उनै अग्रज साहित्यकार डा. देवी नेपालसँगको रमाइलो कुराकानी साथीहरुका लागि प्रस्तुत गर्दै छु । विसं २०३० मा झापामा जन्मनुभएका प्राध्यापक डाक्टर देवी नेपाल प्रौढ तथा बाल दुवै विधामा प्रसिद्ध लेखक, साहित्यकार, समालोचक तथा प्राज्ञ हुनुहुन्छ । साथीहरु तपाईंहरुले पनि पक्कै पढेको हुनु पर्छ । डा. देवी नेपालका बालबलालिकाले अति नै मन पराएका तथा बजारमा प्रकाशित लोकप्रिय कुखुराको बिहे, मैना चरी दङ्ग र परीलगायत दर्जनौँ बालसाहित्यिक रचना अहिले पनि बजारमा छन् । डा. देवी नेपालसँग बालसाहित्यको सन्दर्भमा मुना मासिकका लागि मैले रमाइलो कुराकानी गर्ने  अवसर पाएँ । साथीहरु समग्रमा नेपाली बालसाहित्यको अवस्था कस्तो छ ? के कुराले उहाँ बालसाहित्यमा लाग्न प्रेरित हुनुभयो ? साहित्यमा रूचि भएका हामी जस्तै विद्यार्थी कसरी लेखन क्षमतालाई अगाडि बढाउने भन्ने विषयमा रहेर गरिएको कुराकानी पढौँ है त ।  


 तपार्ईंलाई बालसाहित्य के हो जस्तो लाग्छ ?

बालसाहित्य भनेको केही बालसुलभ भावहरू झल्किने, पढुँ पँढु लाग्ने, रमाइलो र उत्सुकता लागिरहने हरेक भाषा, विषय, प्रस्तुति र अनुभूतिमा बालमैत्रीपन झल्किने साहित्य हो । अरू साहित्यभन्दा यो फरक हुन्छ । यो साहित्यका सबै पक्षमा बालबालिकाको चौतर्फी अनुभूतिको प्रतिविम्बन भएको हुनु पर्छ ।


  बालसाहित्य लेख्न कसरी प्रेरित हुनुभयो ?

मैले जीवनको धेरै अवधि शिक्षकका रूपमा बिताएँ । मैले साहित्य र त्यसमा पनि छन्दकविताको प्रशिक्षणलाई अभियानकै रूपमा अगाडि बढाएको पनि २५ वर्ष भएको छ । यो अवधि र व्रिmयाशीलतामा मैले धेरै बालबालिकाको अत्यन्त समीपमा रहेर उनीहरूलाई नियालेको, उनीहरूको मनसँग खेलेको र अध्ययन गरेको छु । यसै अवसर र भोगाइका आधारमा मैले उनीहरूको रुचि, आवश्यकता, स्तर सुहाउँदो साहित्य वा बालसाहित्य रचना गरेको हुँ ।


  हालसम्म प्रकाशित बालसाहित्यका पुस्तकबाट कत्तिको सन्तुष्टि मिलेको छ ?

मैले विभिन्न विधा र प्रयोजनका पुस्तक लेखेको छु । त्यसमा पनि बालसाहित्यका प्रकाशित कृति पढेर विद्यार्थी खुसी हुँदा उनीहरूले पढ्ने बानीको विकास गर्दा आनन्द लाग्छ ।


  बालबालिकाले कस्ता पुस्तक पढ्नु पर्र्छ ?

बालबालिकालाई उनीहरूका अभिभावकले जिज्ञासु बनाउनेतर्फ अभिमुख गराउनु पर्छ । उनीहरूलाई मन पर्ने पात्र, विषय, चित्र आदि भएका र मनोरञ्जनपूर्ण कविता, कथा आदि रचना गरेर तिनकै माध्यमबाट समाज र जीवनबारे सिकाउनु पर्छ । त्यसैले बालबालिकाले त्रास, अन्धविश्वास, निराशा आदिका नभएर प्रेम, सद्भाव, ऊर्जा अनि स्वाभाविक जीवन सिकाइका पुस्तक पढ्नु पर्छ । 


समय अनुसार बालसाहित्यको प्रभाव र सिकाइको अवस्था कस्तो छ ?

हामीमा भन्दा नयाँ पुस्तामा अनि तीभन्दा अझ नयाँमा यसै गरी नयाँ नयाँपन आउँछ नै । हाम्रो सङ्घर्षको पुस्ता थियो र अहिलेको चाहिँ प्रविधिको पुस्ता हो । प्रविधिले अहिलेको पुस्तालाई सुनौलो परिवेश, त्यसै अनुसारको ज्ञान, क्षमता र सव्रिmयता पनि दिएको छ । सिकाइ उपलब्धिपूर्ण छ ।  बालबालिकालाई राम्रा कृतिले राम्रो प्रभाव पारिरहेको छ । 


 हामीलाई सुन्दा रमाइलो लाग्ने तपाईंका बाल्य अनुभव केही स्मरण गर्नु पर्दा ?

म गाउँमा जन्मे हुर्केको, एक पटक गाई चराउन छोडेर खेल्नमा मस्त हुँदा गाईले अर्काको बाली खाइदिएपछि बुवाले नाम्लोले खुट्टामा हिर्काउनुभएको घटना म अहिले पनि सम्झिरहन्छु । 


   बालसाहित्यमा रूचि भएकालाई अगाडि बढ्न चाहने विद्यार्थीका लागि केही भन्नु पर्दा ?

अहिलेको पुस्ता ऊर्जावान् डिजिटल पुस्ता हो । त्यसैले यो समयमा केही गर्न चाहने हो भने धेरै गर्न सकिन्छ । यो समयका बालबालिका अरू जस्तो होइन आफैँ जस्तो बन्नु पर्छ । आजको समय भोलि आउँदैन, त्यसैले काम गरेर थाक्नु हुँदैन, भोलिका लागि अमर बन्ने काम गर्नु पर्छ । 

परार्थ पराजुली 

कक्षाः १०

भ्याली भ्यु इङ्ग्लिस बोर्डिङ स्कुल, काठमाडौँ