• ५ जेठ २०८१, शनिबार

दलित आयोगमा ‘पुजार सार्की’

blog

काठमाडौँ, वैशाख २२ गते । जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो राखेको छ । आयोगले चलचित्रका निर्माता तथा निर्देशक समूहसँग छलफल तथा स्वागत गरेको हो । चलचित्रका अभिनेतृद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीले पुजार सार्की निर्माको पृष्ठभूमिबारे आयोग पदाधिकारीलाई जानकारी गराउनुभएको थियो । चलचित्रका लेखक विकस सुवेदीले पुजार सार्की आफूले देखेको घटनामा आधारित भएर लेखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ ठाउँमा देखेको घटनामा चलचित्र लेखेको हुँ । चलचित्रमा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेले समेत मुख्र्याइँका रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ । यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेन छ भन्ने मलाई लाग्यो ।”उहाँका अनुसार राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे । त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा चलचित्रको कथा घुमेको छ । अभिनेतृ अञ्जना बराइलीले बच्चैदेखि विभेद देखेको भोगेको स्मरण गर्दै चलचित्रको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउनुभयो ।

अभिनेतृ परीक्षाले भन्नुभयो्, “जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा चलचित्र बनाउन जरुरी छ र भन्ने लागेको थियो । जब चलचित्रको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो । त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ ।” दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले चलचित्र निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । दिनेश राउतको निर्देशन रहेको पुजार सार्की जेठ १० बाट सार्वजनिक प्रदर्शनमा लैजाने तयारी भइरहेको छ । चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह प्रमुख भूमिकामा देखिएका छन् ।