• ४ जेठ २०८१, शुक्रबार

सञ्चारिका पत्रकारिता पुरस्कारबाट दुई महिला पत्रकार सम्मानित

blog

सञ्चारिका पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकारद्वय डा. श्रेष्ठ र मल्ल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २० गते । सञ्चारीका समूह बाँकेले सञ्चारिका पत्रकारिता पुरस्कार २०८० बाट दुई जना महिला पत्रकारलाई सम्मान गरेको छ । सञ्चारीका समूह नेपाल बाँके शाखाको सिफारिसमा नेपालगन्ज उपमहानगरद्वारा प्रदान गरिएको नगद राशिसहित २०८० को वर्ष पुरस्कारद्वारा पत्रकारद्वय डा. मुना श्रेष्ठ र कान्तिपुर टेलिभिजनमा कार्यरत रेजिना मल्ललाई सम्मान गरिएको हो ।

डा. श्रेष्ठलाई सञ्चारिका समूह नेपालको पहिलो निर्वाचित अध्यक्ष वन्दना राणाद्वारा सम्मान पत्र प्रदान गरिएको थियो भने कान्तिपुरकर्मी मल्ललाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पुरस्कार वितरण गर्नुभयो । पुरस्कृत हुने दुवैजना महिला पत्रकारलाई नेपालगन्ज उपमहानगरपालिकाद्वारा प्रदान गरिएको नगद राशि भने नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले हस्तान्तरण गर्नुभयो ।

२०४९ सालदेखि पत्रकारितामा सक्रिय भएर निरन्तर महिला पत्रकारलाई पत्रकारितामा स्थापित गर्न र महिला पत्रकारलाई पत्रकारितामा सक्षम बनाउनका लागि पुर्‍याएको योगदानको कदर स्वरूप डा. श्रेष्ठलाई सञ्चारिका सम्मान पत्र २०८० प्रदान गरिएको हो ।

यसैगरी वि.सं. २०६५ सालदेखि नै कान्तिपुर टेलिभिजनमा आबद्ध भएर हालसम्म पनि निरन्तर रूपमा पत्रकारितामा सक्रिय भएको हुनाले कान्तिपुरकर्मी रेजिना मल्ललाई सञ्चारीका सम्मान पत्र २०८० प्रदान गरिएको थियो । सञ्चारीका समूह नेपाल बाँके शाखा र साथीको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सञ्चारिका समूहले प्रकाशित गरेको २०८१ सालको भित्ते पात्रोको पनि विमोचन गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड) का सदस्य समेत रहनुभएकी वन्दना राणा र पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रूपमा भित्तेपात्रोको विमोचन गर्नुभयो । सो कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, द्वन्द्वपीडित एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमाया विक, इन्सेकका सरस्वती मल्ल, एडभोकेसी फोरमका वसन्त गौतमले र बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लगायत पत्रकारहरूको पनि उल्लेख्य सहभागिता थियो ।