काठमाडौँ, जेठ ३ गते । चन्द्रागिरी नगरपालिका र काठमाडौँ महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
चन्द्रागिरी महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौँ मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । ललितपुरको च्यासल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा महालक्ष्मी नगरपालिकालाई १–० गोलले हराउँदै चन्द्रागिरी नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।
चन्द्रागिरीले खेलको ५५औँ मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोल उपहार पाएको थियो । खेलको म्यान अफ दि म्याच चन्द्रागिरीका सिल्भा कन्दाग्वा हुनुभयो । उहाँलाई गोदावरी नगरपालिकाको तर्फबाट पाँच हजार रुपियाँ र ट्रफि महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी मर्हजनले हस्तान्तरण गर्नुभयो ।
अर्को सेमिफाइनल खेलमा मध्यपुर थिमि नगरपालिकालाई १–० गोलले नै हराएर काठमाडौँ महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको छ । काठमाडौँ महानगरका लागि मनिष सेढाईले ५३औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।
खेलको म्यान अफ दि म्याच काठमाडौँका अनिल खड्का घोषित हुनुभयो । उहाँलाई मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले ट्रफि र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले पाँच् लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउने छन् ।