• ४ जेठ २०८१, शुक्रबार

मलेरिया नियन्त्रणका लागि झुल वितरण

blog

झुल वितरण गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, वैशाख २० गते ।
कतै भ्रमण नगरेका मानिसमा मलेरिया (औलो) देखिएपछि नियन्त्रणका लागि झुल वितरण गरिएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका वडा नं ३ मा मलेरिया (औलो) सङ्क्रमण देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) र सेभ द चिल्ड्रेनको सहयोगमा स्थानीय बासिन्दालाई लामखुट्टेबाट बच्न झुल वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नं. ३ रिङ्नेरहका एक जना स्थानीय बासिन्दालाई गएको असोजमा स्वास्थ्य परीक्षण गर्दा मलेरिया पुष्टि भएको थियो । कतै भ्रमण नगरेका व्यक्तिमा समेत मलेरिया पुष्टि भएपछि गाउँपालिकाले दुई  हजार पाँच सय थान झुल वितरण गरेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । लामखुट्टे लाग्ने मौसम सुरु भएकाले मलेरियाबाट बच्न झुल वितरण गरिएको बताउनुभयो । यो वर्ष नेपालमा जम्मा १८ जनामा स्थानीय मलेरिया पुष्टि भएको स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले सन् २०२५ सम्ममा नेपाललाई मलेरिया (औलो) मुक्त राष्ट्र बनाउने रणनीति अघि सारेको छ । तर पाल्पामा भने मलेरिया देखिने क्रम बढेको छ । पाल्पामा यो वर्ष हालसम्म पाँच जनामा मलेरिया देखिएको छ । त्यसमध्ये चार जना आयातित र एक जनामा स्थानीय रुपमै बसोबास गरेका मानिसमा मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । पाल्पाको पूर्वखोलामा एक, रामपुर र माथागढीमा दुई/दुई तथा तानसेनमा एक जनामा औलो पुष्टि भएको उहाँले बताउनुभयो ।

सरकारले औलो उन्मुलनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । जनचेतना अभिवृद्धि, लामखुट्टे वासस्थान नष्ट, फोहोर सरसफाइलगायतका काम गर्दै आएको इडिसिडीका निर्देशक डा. रुद्र मरासिनीले बताउनुभयो । चालु आर्थिक वर्षमा सबैभन्दा बढी औलोका बिरामी लुम्बिनी प्रदेशमा भेटिएको छ । चालु आर्थिक वर्षमा यो प्रदेशमा कुल २३३ जनामा औलो भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।