• ५ जेठ २०८१, शनिबार

हेलिप्याड हटाएर अस्पताल बनाइँदै

blog

भगवतीमाई गाउँपालिका–३ स्थित सान्नतडामा बनेको हेलिप्याड । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख २० गते । दैलेखको भगवतीमाई गाउँपालिका–३ स्थित सान्नतडामा बनेको हेलिप्याडको संरचना हटाउन लागिएको छ । आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारले उक्त संरचना निर्माण गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बाढीपहिरो, आगलागी, कटान, दुर्घटना भएमा खोज, उद्धार र राहत कार्यलाई सहज पुग्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको थियो । डिभिजन वन कार्यालय दैलेखले सो संरचना निर्माण गर्दा आठ लाख रुपियाँभन्दा बढी लागत लागेको थियो । 

सो कार्यालयले एउटै आवमा दैलेखका दुई स्थानमा हेलिप्याड निर्माण गरिएको डिभिजन वन कार्यालय दैलेखका सूचना अधिकारी वेदप्रकाश ढकालले बताउनुभयो । उहाँका अनुसार भगवतीमाई गाउँपालिका र ठाँटीकाँध गाउँपालिकामा हेलिप्याडका संरचना निर्माण गरिएका थिए । स्थानीय सरकारसँग समन्वय नगरी संरचना निर्माण गरिएको भगवतीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष दानबहादुर थापाले बताउनुभयो । त्यतिबेला स्थानीय सरकारसँग कुनै पनि समन्वय नै नगरी प्रदेश सरकारले हस्तक्षेपपूर्ण तरिकाले संरचना निर्माण गरेको उहाँको भनाइ छ । अन्य स्थानमा विकल्प खोज्न भनिएको भए पनि जबरजस्ती संरचना खडा गरिएको उहाँको आरोपसमेत छ । अस्पताल निर्माण गर्ने ठाउँ हो भन्दाभन्दै प्रदेश सरकारले अटेर गरी संरचना निर्माण गरेको उहाँले दाबी गर्नुभयो । बिनाअध्ययन स्थानीयको आवश्यकताविपरीत संरचना निर्माण गरेकाले गाउँपालिकाले पुरानो संरचना हटाएर सोही स्थानमा नयाँ संरचना निर्माण गर्न लागेको जनाइएको छ । हेलिप्याड निर्माण गरिएको जग्गा गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि स्थानीय सरकारले आफ्नो नाममा बनाएको थियो ।

समन्वयबिना नै प्रदेश सरकारले उक्त संरचना निर्माण गरेकाले स्थानीय सरकारले भत्काउन बाध्य बनेको गाउँपालिकाले जनाएको छ । पुरानो संरचना हटाएर आधारभूत अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको सहमतिबिनै उक्त संरचना निर्माण गरिएकाले हटाउनु परेको हो । गाउँपालिकाले १३ रोपनी जग्गामा १० शøयाको आधारभूत अस्पताल निर्माण गर्न लागेको छ । यो घटनामा स्थानीय र प्रदेश सरकारको समन्वयको अभावमा राज्यको सम्पत्तिको व्यापक दुरुपयोग भएको भगवतीमाई गाउँपालिका–४ का स्थानीय जनकप्रसाद अधिकारीले आरोप लगाउनुभयो । 

सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल निर्माण’ गर्ने नीति अनुरूप अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर खगेन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० देखि अस्पताल निर्माणको काम थालिएको हो । गत आवमा टेन्डरलगायतका काम गरिएको थियो । चालु आव २०८०/८१ देखि ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । उहाँका अनुसार १३ करोड रुपियाँमा ठेक्का सम्झौता गरेर काम अघि बढेको छ ।